नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले आठौँ वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको मंसिर १० गते बसेको सञ्चालक समितिको बैठकले आगामी पुस ३ गते शुक्रबार साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो । सभामा कम्पनीले अन्य लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जानेसम्बन्धी विशेष प्रस्ताव पेस गर्ने भएको छ ।
कम्पनीले अन्य इजाजतपत्रप्राप्त एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने, समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्ने, ड्यु डिलिजेन्स अडिट (डीडीए) तयार गर्न मूल्यांकनकर्ता नियुक्त गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्नेलगायतका सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव अघि सारेको छ ।
त्यस्तै, सभामा वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायबाट कुनै संशोधन वा परिमार्जन गर्न निर्देशन प्राप्त भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत पेस हुनेछ ।
सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्नेछ । साथै, सोही आर्थिक वर्षको नाफानोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरूमाथि छलफल गरी पारित गर्ने कार्यक्रम छ ।
आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा समावेश गरिएको छ ।
यसैगरी, सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्नेछ । साधारणसभा प्रयोजनका लागि कम्पनीले मंसिर १८ गतेदेखि पुस ३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।


