केही दिन कम भएको नेपालको वायु प्रदूषण फेरि बढेको छ । राजधानी काठमाडौं विश्वकै प्रदूषित शहर हुन पुगेको छ । घाम नलाग्ने, चिसो हुने, नाक पोल्ने गरी हावा बहने जस्ता असर देखाउँदै वायु प्रदूषण बढेको छ । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत हप्ताकै अवस्थामा नपुगे पनि सोमवारदेखि बढेको छ । उनले भने, ‘अझ बढ्दै गएमा सवारीसाधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।’ देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उनी बताउँछन् ।
जबसम्म वन डढेलो नियन्त्रण हुँदैन तबसम्म वायु प्रदूषण कम हुने सम्भावना नरहेको उनले सुनाए । वायुमण्डलमा प्रदूषण बढेको वायुको अवस्था स्थिर रहँदा त्यसमा अन्य प्रदूषणको मात्रा थपिँदै गएको छ । विभिन्न प्रकारको रसायन तथा ग्यासको मात्रा समेत बढ्दा वायुमण्डल धुमिल बन्ने जोशीले जानकारी दिए तर त्यस्ता प्रदूषित वायु बनाउने ग्यासको मापन गर्ने प्रणाली नेपालमा उपलब्ध छैन । बढ्दो दरमा रहेको प्रदूषणको विश्वव्यापी सूचकांकमा नेपालको काठमाडौं शहर पहिलो नम्बरमा छ ।
वायु प्रदूषणको गुणस्तरको सूचक २५१ नम्बरका साथ काठमाडौं पहिलो नम्बरमा छ । यो मानवका लागि अति अस्वस्थकर वायुको गुणस्तर हो । काठमाडौंपछि अहिले विश्वमा म्यान्मारको यांगुन, थाइल्यान्डको छियाङ माई, दक्षिण अफ्रिकाको जोहानेसवर्ग र पाँचौं नम्बरमा भारतको मुम्बई छन् ।
काठमाडौंबाहेक अति अस्वस्थकर वायु प्रदूषण रहेको अन्य शहरमा नेपालगञ्जको २३० र पोखराको २२२ सूचकांक छ । विगत २४ घण्टामा सबैभन्दा बढी अस्वस्थकर वायु धनगढीमा ३७४, चितवनको सौराहामा ३०८ र भरतपुरमा ३०१ नम्बरमा उक्लिएको थियो । वायुको यो स्तर भनेको मानिसले घरबाहिर निस्कनै नहुने अवस्था हो । अन्य रोगले ग्रस्त भएका बिरामीका लागि यो वायु कालसरह मानिन्छ ।
अति अस्वस्थकरतर्फ आकाशिँदै गएको वायु प्रदूषणयुक्त अन्य सहरमा सिमरा, हेटौंडा र भक्तपुर छन् । अन्य करीब १२ शहर पनि अस्वस्थकर वायु प्रदूषणले व्याप्त छ । विगत १ हप्तादेखि लगातार भारतबाट आएको धुलो हावासँगै बहँदा मुम्बई र दिल्लीका औद्योगिक क्षेत्रको धुवाँसमेत नेपाल भित्रिरहेको मौसमविद् समीर श्रेष्ठले बताए ।
उनले भने, ‘बिहान बेलुका धुम्म तुवाँलोले ढाक्ने क्रम बढेको छ, जसका कारण भिजिबिलिटी कम भएर आँखाले देख्न नसक्ने अवस्था आउन थालेको छ ।’सोमवार मध्याह्न १ हजार ५०० मिटर तल भिजिबिलिटीको स्तर झरेको थियो । दिउँसो खुलेर बल्ल–बल्ल २ हजार ५०० आसपास पुगेको भिजिबिलिटी साँझ ह्वात्तै घटेको श्रेष्ठले बताए । उनले पनि वर्षा नहुँदाको अवस्थामा बढेको डढेलो नै अहिले नेपालमा प्रदूषण थप्ने मुख्य कारक रहेको औंल्याए । गोरखापत्र दैनिकमा खबर छ ।


