Banijya News

मुस्ताङ भन्सारबाट सात अर्ब ६६ करोड राजश्व संकलन

1
1.0K Shares

नेपाल–चीन उत्तरी नाका कोरलानाकाबाट सात अर्ब ६६ करोडभन्दा बढी राजश्व संकलन भएको छ । उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ न्हेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयबाट चालु आवको एघार महिनामा निकासी तथा पैठारी माल वस्तुबापत रु. सात अर्ब ६६ करोड ८५ लाखभन्दा बढी राजश्व संकलन भएको हो ।

कार्यालयका प्रमुख विदुर चुडालका अनुसार, कोरलानाकाबाट रु. १३ अर्ब ८९ करोड ५२ लाख मूल्य बराबरको मालवस्तु पैठारी भएको छ । यसैगरी, रु. २० करोड ५५ लाख ७४ हजार मूल्य बराबरको मालवस्तु भन्सार जाँचपास भई चीनतर्फ निकासी भएको तथ्यांक छ । यो नाका गत ३१ भदौदेखि पूर्ण रूपमा सञ्चालनमा आएको हो ।

गत जेठसम्म दुई हजार ९९७ वटा विद्युतीय सवारीसाधन (इभी) कोरलानाकाबाट भन्सार जाँचपास भई नेपाल भित्रिएको कार्यालयले जनाएको छ । भन्सार प्रमुख चुडालका अनुसार, चीनबाट पैठारी गरिएका विद्युतीय सवारीसाधनबाट करिब रु. सात अर्ब राजश्व संकलन भएको छ ।

गत वर्ष उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका लागि मात्रै खुला भएको कोरला वैकल्पिक नाकाका रूपमा सञ्चालनमा ल्याइएको हो । कोरलानाका हुँदै निकासी तथा पैठारी गरिएबापत मुस्ताङ भन्सार कार्यालयले चालु आवको साउनमा सबैभन्दा कम रु. सात लाख ५७ हजार र असोजमा सबैभन्दा बढी रु. दुई अर्ब ४९ करोड २५ लाख राजश्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ ।

कोरलानाकाबाट विद्युतीय सवारीसाधनसहित चाडपर्व लक्षित लत्ताकपडा, इलेक्ट्रोनिक उपकरण, जुत्ताचप्पल, किराना सामग्री, कस्मेटिकलगायत मालवस्तु नेपाल भित्रिने गरेका छन् । यता नेपालबाट हस्तकलासम्बन्धी सामग्री र स्थानीय उत्पादन चीनतर्फ निकासी हुने गरेका छन् ।

1

Scroll to Top