Banijya News

साउन १५ः खीर खाने दिन, कसरी बनाउने मिठो खीर ?

1
1.1K Shares

नेपाली मौलिक संस्कृति र परम्परासँग गहिरो सम्बन्ध बोकेको साउन १५ गतेलाई “खीर खाने दिन“ को रूपमा विशेष हर्षोल्लासका साथ मनाइन्छ। यस दिन घर–घरमा दूध, चामल, चिनी, घिउ र मेवा मिसाएर मीठो खीर पकाइन्छ र परिवारका सदस्य, छिमेकी तथा आफन्तसँग बाँडेर खाने चलन छ।

हाम्रो देशमा दशैंमा मासु चिउरा, तिहारमा सेलरोटी, मंसिरमा दही चामल, माघ १ मा घ्यु चाकु, असार १५ मा दही चिउरा र साउन १ मा खीर खाने जस्ता चाडपर्वहरू मनाइन्छन्। यी सबै पर्वहरूले पारिवारिक एकता, मिलन र सन्तुलित आहारको व्यवस्थापनमा जोड दिएको पाइन्छ। हाम्रा पुर्खाहरूले विभिन्न मौसममा उत्पादन हुने अन्न र खाद्य पदार्थलाई चाडपर्वसँग जोडेर सन्तुलित आहारको व्यवस्थापन गरेका थिए। तर, पछिल्लो समयमा हामी आफ्नो मौलिक परम्परा र संस्कृतिलाई बिर्सँदै आगन्तुक पर्वहरू मनाउनेतर्फ अग्रसर भएका छौं, जसले हाम्रो नेपाली पहिचान नै लोप हुने जोखिम बडाएको छ। हामीले हाम्रा यी मौलिक परम्पराहरूलाई जोगाएर भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्छ।

साउन १५ मा खीर किन मनाइन्छ ?
१. किसानहरूको विश्राम र खुसीः
असार महिनाभर किसानहरू हिलो र पानीमा काम गरी धान रोपाइँमा व्यस्त हुन्छन्। साउनको आधाआधीसम्म रोपाइँको काम लगभग सकिएपछि यो दिनलाई रोपाइँपछिको विश्राम लिने अवसरको रूपमा मनाइन्छ। खेतबारीको कामबाट फुर्सद मिलेपछि परिवारसँग बस्ने, मीठो मसिनो खीर खाने र खुसी मनाउने चलन छ।

२. एकता र मेलमिलापको प्रतीकः
साउन १५ केवल परिकार खाने दिन मात्र होइन, यो दिन टाढा रहेका परिवारजन, आफन्त र छिमेकी भेट्ने, प्रेम र सद्भाव बाँड्ने, एकआपसमा सुख–दुःखका कुरा साटासाट गर्ने अवसर पनि हो। यसले सामाजिक सम्बन्धलाई अझ प्रगाढ बनाउँछ।

३. समृद्धि र शुभ कार्यको प्रतीकः
हिन्दू धर्मशास्त्रअनुसार दूध र चामल “सात्त्विक“ (शुद्ध) अन्न मानिन्छ। खीरलाई भगवानलाई प्रसादका रूपमा अर्पण गर्ने प्रथा पनि छ। यसैले, यो दिन खीर खाँदा घरमा शान्ति र समृद्धि आउने विश्वास गरिन्छ। पशुपतिनाथ, स्वयम्भू, मनकामना लगायतका मन्दिरहरूमा विशेष पूजा गरी खीर अर्पण गर्ने चलन पनि छ। नेपाल बहुभाषा, जातजाति, संस्कृति र धर्म भएको देश हो, जहाँ फरक–फरक समुदायले आफ्नै ढंगले हरेक संस्कार, पर्व र परम्परालाई जगेर्ना गर्दै आएका छन्। यही विविधता नै हाम्रो देशको सुन्दर पक्ष हो।

खीर सेवनका स्वास्थ्य लाभहरू
खीरको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा पु¥याउँछः

पोषणको खानीः दूध र चामलबाट प्रोटिन, क्याल्सियम, कार्बोहाइड्रेट र भिटामिन बी–कम्प्लेक्स प्राप्त हुन्छ।

हड्डी बलियो बनाउँछः क्याल्सियम र भिटामिन डीको कारण हड्डी र दाँत मजबुत हुन्छन्।

सहज पाचनः खीर सजिलै पच्ने र तातो–तातो खाँदा पेटलाई आराम दिने परिकार हो।

रोग प्रतिरोधात्मक क्षमता वृद्धिः यसमा विभिन्न गरम मसलाहरू राखिएको हुनाले यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। दूधमा पाइने प्राकृतिक तत्वले शरीरलाई शक्तिशाली बनाउँछ।

मानसिक शान्ति र खुसीः परिवारसँग सँगै बसेर खीर खाने वातावरणले मानसिक तनाव घटाउँछ र आपसी प्रेम बढाउँछ।

आधुनिक समाजमा खीर खाने चलनको सन्देश
आजको व्यस्त समाजमा हाम्रा संस्कार, परम्परा र चाडपर्वले हामीलाई हरेक कुराको सम्झना दिलाउँछन्। साउन १५ को खीर खाने दिन परिवारसँग समय बिताउने, बुबाआमा र पुर्खाप्रति सम्मान गर्ने, सहकार्य र साझेदारीको भावना बलियो बनाउने अवसर हो। भाद्र–असोजतिरको मौसममा यो दिनलाई सामाजिक एकताको सेतु मानिन्छ।

साउन १५ को खीर खाने दिन केवल खानपिनको कुरा होइन, यो हाम्रो मौलिकता, संस्कार, सहकार्य र पारिवारिक प्रेमको उत्सव हो। यो हाम्रो जीवनशैली र संस्कारसँग जोडिएको अनुपम उत्सव हो। त्यसैले, यस दिन खीर खाऔं, परम्परा जोगाऔं, र स्वास्थ्य तथा पारिवारिक प्रेमलाई प्राथमिकता दिऔं।

स्वादिष्ट खीर बनाउने विधि
यस वर्षको साउन १५ मा घरमै स्वादिष्ट खीर बनाएर यो परम्परालाई निरन्तरता दिनुहोस्।

आवश्यक सामग्रीः

चामल (बासमती वा ताइचिन)ः १ कप

दूधः १ लिटर

चिनीः १ ठूलो चम्चा

काजु (टुक्रा पारिएको)ः २ सानो चम्चा

नरिवल (टुक्रा पारिएका)ः २ सानो चम्चा

छोकडा (टुक्रा पारिएको)ः २ सानो चम्चा

सुकुमेलः २–३ पिस

किसमिसः ६–७ पिस

ल्वाङः २–३ पिस

तेजपातः १–२ पात

बनाउने तरिकाः
१. सर्वप्रथम, चामललाई केलाएर राम्ररी सफा गर्नुहोस्।
२. खीर बनाउन आवश्यक चामललाई पानीले राम्ररी पखाल्नुहोस्।
३. चुलोमा मध्यम तापको आगो बाल्नुहोस् र एक लिटर दुध हालेर डेक्ची बसाल्नुहोस्।
४. दुधलाई राम्ररी तात्न दिनुहोस्।
५. धोएर राखेको चामललाई उम्लिएको दुधमा हाल्नुहोस्।
६. सानो आगोमा दुध र चामल केही मिनेट पाक्न दिनुहोस्।
७. यसरी दुधमा चामल छड्किन थालेपछि पूर्वतयारी गरेको काजु, नरिवल, ल्वाङ, सुकुमेल, किसमिस, छोकडाको टुक्रा हाल्नुहोस्। चिनी र तेजपात पनि हाल्नुहोस्।
८. अब सो चामल र सबै मसला गल्ने गरी सानो आगोमा १२–१५ मिनेट पकाउनुहोस्।
९. यसरी तयार भएको खीरलाई चुलोबाट उतार्नुहोस्।
१०. अब मनतातो अवस्थामा खीरको स्वाद लिनुहोस्।

साउन १५ को खीर खाने दिनको शुभकामना!

1

Scroll to Top