Banijya News

नेप्सेमा सामान्य अंकको वृद्धि, कारोबार रकममा गिरावट

1
1.0K Shares

लगातार चार कारोबार दिनको गिरावटपछि  बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा वृद्धि भएको छ ।  यस दिन नेप्से परिसूचक २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा कायम भएको  हो। नेप्से परिसूचक बढे पनि कारोबार रकम भने घटेको छ।

अघिल्लो कारोबार दिन मंगलबार ६ अर्ब ४४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा बुधबार  घटेर ४ अर्ब २९ करोड ७४ लाख ६४ हजार रुपैयाँमा सीमित भएको छ। यस दिन ३५६ कम्पनीका ९२ लाख ८३ हजार कित्ता सेयर ४९ हजार २४८ पटक खरिद–बिक्री भएका छन्।

१३ उपसमूहमध्ये बुधबार सात उपसमूहको परिसूचक बढेको छ भने छ उपसमूह घटेका छन्। बैंकिङ, विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फन्ड समूहको परिसूचक सामान्य अंकले बढेको छ। अन्य उपसमूहको गिरावट दर भने ०.५० प्रतिशतभन्दा कम रहेको नेप्सेले जनाएको छ।

बुधबार तीन कम्पनीका सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्। कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरका सेयर सर्किट लेभलमा पुगेका हुन्। त्यस्तै सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य करिब ११ प्रतिशतले बढेको छ भने बुंगल हाइड्रोपावरको सेयर करिब ७ प्रतिशतले वृद्धि भएको छ।

कारोबारमा आएको १०.२५ प्रतिशत प्रभु बैंक डिबेन्चर २०८६ को मूल्य भने सर्वाधिक ८.७१ प्रतिशतले घटेको छ। कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहेको छ, जसको २० करोड ४१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको पनि २० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ भने सिटी होटलको करिब साढे १६ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

1

Scroll to Top