गत आर्थिक वर्ष २०८१/०८२ मा औसत उपभोक्ता मुद्रास्फीति (महँगी) ४.०६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकको वार्षिक तथ्यांकअनुसार, अघिल्लो वर्षको तुलनामा महँगी कम हो ।
सरकारले बजेटमार्फत ५.५ प्रतिशत महँगी कायम रहने अनुमान गरेको थियो । तर, मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले महँगीलाई ५ प्रतिशतको हाराहारीमा राखेर मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिने लक्ष्य राखेको थियो । अघिल्लो आर्थिक वर्ष महँगी ५.४४ प्रतिशत थियो ।
०८२ असारमा वार्षिक विन्दुगत उपभोक्ता महँगी २.२० प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । ०८१ असार महिनामा यस्तो महँगी ३.५७ प्रतिशत रहेको थियो ।
अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८१/८२ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको मूल्यवृद्धि १०.७१ प्रतिशत, घिउ तथा तेलको ८.७२ प्रतिशत, दाल तथा गेडागुडीको ७.९० प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको ६.१३ प्रतिशत रहेको छ । मरमसला उपसमूहको मूल्य सूचकांक २.६२ प्रतिशत र माछा तथा मासुको ०.३४ प्रतिशतले घटेको छ ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाहरू उपसमूहको मूल्यवृद्धि ९.३९ प्रतिशत, कपडाजन्य तथा जुत्ता चप्पलको ६.०९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ५.६५ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ४.७८ प्रतिशत र सुर्तीजन्य पदार्थको ४.३७ प्रतिशत छ ।


