Banijya News

तिहारमा ४५ लाख माला खपत हुने अनुमान, ९० प्रतिशत माग स्वदेशी उत्पादनले धान्ने

1
1.2K Shares

काठमाडौं । यस वर्षको तिहार पर्वका लागि देशभर करिब ४५ लाख थान फूल माला खपत हुने अनुमान गरिएको छ । पुष्प व्यवसायीहरूको छाता संगठन नेपाल फ्लोरिकल्चर एसोसिएसन (फ्यान) का अनुसार बजारमा देखिएको उच्च माग र फूलखेतीमा बढ्दो आकर्षणका कारण यस वर्षको मागमध्ये करिब ९० प्रतिशत स्वदेशी उत्पादनले नै थाम्नेछ ।

तिहार आउन अब एक सातामात्र बाँकी छ । यसबीच किसानहरूले सयपत्री, मखमली र गोदावरी फूल टिप्ने र माला बुन्ने काम तीव्र रूपमा थालेका छन् । फ्यान अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष नेपाल सयपत्री, मखमली र गोदावरीजस्ता फूलमा पूर्णरूपमा आत्मनिर्भर बनेको छ । उनका अनुसार यसपालि ४० लाख थान सयपत्री माला, ५ लाख ५० हजार थान मखमली माला, ५० हजार गोदावरी माला र २० हजार मिक्स माला बजारमा आपूर्ति हुने अनुमान गरिएको छ । मिक्स माला बनाउन प्रयोग हुने गुलाफ लगायतका केही फूल भने अझै आयातमा भर पर्ने देखिएको छ ।

श्रेष्ठका अनुसार अहिले धेरै नेपाली घरधुरीले व्यक्तिगत प्रयोगका लागि पनि आफ्नै खेत वा आँगनमा फूल उत्पादन गर्न थालेका छन् । उनले बताएअनुसार युरोप, अमेरिका र खाडी मुलुकमा रहेका नेपाली समुदायका लागि करिब २ लाख थान मखमली माला निर्यात गरिन्छ ।

फ्यान महासचिव हिरामणि शर्माका अनुसार फूल र मालाको मूल्य सिधा तोकिएको छैन । फूलहरू सजावट र भ्यालु एड गरिएर बजारमा पठाइने भएकाले मूल्यमा फरक पर्ने उनले बताए । उनका अनुसार थोक बजारमा सयपत्री मालाको मूल्य ८० देखि ८५ रुपैयाँ र मखमली मालाको ४० देखि ४५ रुपैयाँ पर्न सक्छ । खुद्रा बजारमा भने सयपत्री मालाको मूल्य १ सय २० देखि १ सय २५ रुपैयाँ र मखमली मालाको मूल्य ८० देखि ८५ रुपैयाँसम्म पर्ने अनुमान गरिएको छ ।

त्यस्तै मिश्रित मालाको खुद्रा मूल्य ३ सयदेखि १ हजार रुपैयाँसम्म र गोदावरी मालाको मूल्य उपभोक्ताको रोजाइअनुसार १ हजारदेखि ३ हजार रुपैयाँसम्म पर्ने फ्यानले जनाएको छ । शर्मा भन्छन्, ‘माला तयार पार्दा विभिन्न सजावटका सामग्री थपिने भएकाले अन्तिम खुद्रा मूल्य फरक पर्छ ।’

फूल उत्पादनका सन्दर्भमा फ्यानले नेपाल अहिले करिब ९० प्रतिशत आत्मनिर्भर बनेको जनाएको छ । बाँकी १० प्रतिशत माग पूरा गर्न मिश्रित मालाका लागि गुलाफजस्ता फूल विदेशबाट आयात गर्नुपर्ने देखिन्छ । यी फूलहरू कानुनी प्रक्रिया पूरा गरेरै भित्र्याइने फ्यानले स्पष्ट पारेको छ ।

फूलखेती प्रवर्द्धनका लागि सरकारले सन् २०१३ देखि २०१६ (२०७० देखि २०७३) सम्म लागू गरेको ‘पुष्प विकास प्रवर्द्धन नीति’ ले ठूलो योगदान पुर्‍याएको फ्यानको भनाइ छ । यस नीतिको कार्यान्वयनपछि देशभर किसानहरू फूलखेतीतर्फ आकर्षित भएका छन् । हाल देशका ५२ जिल्लामा करिब २ सय ७० हेक्टर जमिनमा फूलखेती भइरहेको छ ।

फ्यानका अनुसार देशभर १ हजार २ सय ३५ भन्दा बढी पुष्प व्यवसायी यस क्षेत्रमा संलग्न छन् । यसमा नर्सरी, कट फ्लावर उत्पादक, खुद्रा तथा थोक व्यवसायी, इनपुट सप्लायर र लुज फ्लावर उत्पादक समेत रहेका छन् । यो क्षेत्रमा हालसम्म ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको र करिब ५३ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष वा अप्रत्यक्ष रोजगारी पाएको फ्यानले जनाएको छ ।

सामान्यतया पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशतको हाराहारीमा रहँदै आएको भए पनि यस वर्ष समग्र अर्थतन्त्रको सुस्त गतिका कारण वृद्धिदर स्थिर वा केही घट्ने अनुमान गरिएको छ । आवश्यक बीउबिजन र मदर प्लान्ट आयातमा देखिएको कठिनाइका कारण गत वर्ष पुष्प कारोबार केही घटेको फ्यानले जनाएको छ ।

फ्यानका तथ्यांक अनुसार आव २०८०/८१ मा करिब ३ अर्ब ६८ करोड रुपैयाँको फूल कारोबार भएको थियो, जुन अघिल्लो आवको तुलनामा ८.५ प्रतिशतले कम हो । त्यस्तै, सो अवधिमा पुष्प तथा पुष्पजन्य वस्तुको निर्यात कारोबार १०९ प्रतिशतले वृद्धि भई २ करोड १३ लाख रुपैयाँ पुगेको थियो ।

हाल नेपालबाट जापान, हङकङ, अमेरिका, अस्ट्रेलिया, कतार, क्यानडा, यूएई र माल्टा लगायत देशहरूमा बल्ब, ट्युबर रुट्स, ड्राइ तथा फ्रेश फ्लावर निर्यात गरिन्छ । त्यस्तै, भारत, नेदरल्यान्ड, जर्मनी, चीन, जापान, केन्या र अन्य देशबाट बीउबिजन र पुष्पजन्य वस्तु आयात गरिँदै आएको छ ।

1

Scroll to Top