ट्रंक तथा डेडिकेटेड लाइनको बक्यौता नतिर्ने २५ उद्योगको लाइन काट्दा करिब २०० मेगावाट विद्युत् बचत भएको छ । प्राधिकरणले पछिल्लो पटक २५ भन्दा बढी उद्योगहरूको विद्युत् लाइन काटेपछि उनीहरूको कुल खपत बराबरको बिजुली ग्रिडमा थपिएको छ।
विद्युत् उत्पादनमा कमी नभएको र भारतमा समेत निर्यात गरिरहेको अवस्थामा ठुला उद्योगमा खपत हुने विद्युत् कटौती गर्दा बचेको विद्युतलाई प्राधिकरणले व्यवस्थापन गरिरहेको छ ।
उद्योगमा कटौती भएको विद्युत् अहिले भारतमा निर्यात भइरहेको छ । प्राधिकरणलाई घाटा नहुने गरी उद्योगका विद्युत् काटिएको र बचत भएको बिजुली भारत निर्यात गरी आम्दानी गरिरहेको प्राधिकरणले जनाएको छ ।
उद्योगहरूलाई दिइने बिजुलीको महसुलभन्दा भारत निर्यात गर्दा पाउने रकम राम्रो भएकाले प्राधिकरणलाई वित्तीय रूपमा घाटा नभएको जनाएको छ ।
हाल प्राधिकरणले उद्योगहरूलाई समयअनुसार फरक–फरक महसुल दरमा बिजुली उपलब्ध गराउँदै आएको छ । जसमा ‘पिक आवर’ र ‘अफ–पिक आवर’ को दर फरक छ ।
उद्योगहरूले प्राधिकरणलाई ९ रुपैयाँदेखि १२ रुपैयाँ प्रतियुनिटसम्म विद्युत् महसुल बुझाउने गरेका छन् । भारतमा ११ रुपैयाँ प्रतियुनिटभन्दा बढीमा निर्यात हुने गरेको छ ।
विगतमा पनि प्राधिकरणले प्राविधिक कारणले विभिन्न औद्योगिक कोरिडोरमा विद्युत् कटौती गर्दै आएको थियो । अहिलेको कटौतीलाई भने माग र आपूर्तिको व्यवस्थापनसँग जोडिएको छ । छठ पर्वपछि औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको अवस्थाबारे थप स्पष्ट हुने प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले २८ किस्तामा बक्यौता भुक्तानीका लागि २१ कार्य दिनको समय दिएर कात्तिक १७ गतेभित्र बक्यौता तिर्न सूचना निकालेको थियो । पछि सूचना सच्याएर सूचना निकालेको २१ दिनभित्रै बक्यौता तिर्न भनेको थियो ।
तर उद्योगहरूले प्राधिकरणले दिएको समय अवधिमा सम्पर्कमा नआएका र बक्यौता नतिरेका उद्योगको लाइन काटेको छ । प्राधिकरणले गत मंगलबार जगदम्बा स्टील, रिलायन्स स्पिनिङ मिल्स, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, अर्घाखाँची सिमेन्ट इन्डष्ट्रिज र त्रिवेणी स्पिनिङ मिल्सको बिजुली काटेको थियो ।
त्यस्तै प्राधिकरणले एभेरस्ट पेपर मिल्स, हिमाल आइरन, त्रिवेणी सिन्थेटिक यार्न, कसमस सिमेन्ट, पञ्चकन्या स्टिल, श्याम प्लास्टिक, गोयन्का फुड्स, एसआर स्टिल लगायत उद्योगको लाइन काटेको छ ।
भलबारी स्वचालित कारखाना, जगदम्बा सिन्थेटिक, एभरेस्ट रोलिङ, विशाल सिमेन्ट, एसआर फुड्स, सिद्धार्थ पेट प्लास्ट, बुटवल सिमेन्ट, सोनापुर मिनरलस एन्ड आयल, पञ्चकन्या प्लास्टिक, घराना फुड्स र निगाले सिमेन्ट उद्योगको विद्युत लाइन पनि काटिएको छ ।
अन्य ९ उद्योगले पहिलो किस्ताको रकम बुझाएकाले विद्युत् कटौती नगरेको प्राधिकरणले जनाएको छ । सरकारी स्वामित्वको हेटौंडा सिमेन्ट र उदयपुर सिमेन्टले यस अघि नै भुक्तानी प्रतिबद्धता जनाएकाले विद्युत् कटौती गरिएको छैन । डेडिकेटेड र ट्रङ्कलाइन महसुल बक्यौता विवाद २०७२ माघदेखि २०७५ वैशाखसम्मको हो ।
लोडसेडिङको समयमा यी उद्योगले विशेष लाइनमार्फत विद्युत् प्रयोग गरे पनि तोकिएको अतिरिक्त शुल्क भने नबुझाएको प्राधिकरणको आरोप छ ।
उद्योगीहरूले भने बक्यौता नरहेको दाबी गर्दै आएका छन् । बक्यौता तिर्नपर्ने भए प्रमाण दिन उनीहरूले सरकारलाई आग्रह गर्दै आएका छन् । प्राधिकरणले विद्युत् कटौती गरेसँगै अहिले प्रायः सबै उद्योग बन्द भएका छन् ।
विद्युत् प्राधिकरणले अहिले दैनिक १,१४० मेगावाट विद्युत् भारतमा निर्यात गरिरहेको छ । जसमा उद्योगहरूबाट कटौती भएको २०० मेगावाट विद्युत् पनि समावेश छ ।


