चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सञ्चालनमा रहेका २५ वटा लघुवित्त वित्तीय संस्थाले उल्लेखनीय नाफा वृद्धि गरेका छन्। सार्वजनिक वित्तीय विवरणअनुसार ती संस्थाहरूले ६ महिनामा कुल २ अर्ब ८४ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ५६.२६ प्रतिशत बढी हो। गत वर्ष सोही अवधिमा यी संस्थाहरूले १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएका थिए। ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएसँगै लघुवित्त संस्थाहरूको नाफा सुधार भएको देखिन्छ।
यस अवधिमा २५ वटा लघुवित्त संस्थाले कुल ९ अर्ब ५४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका छन्। यो आम्दानी गत वर्षको तुलनामा १५.१८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सोही अवधिमा संस्थाहरूले ८ अर्ब २८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेका थिए। यद्यपि, वित्तीय रिपोर्ट सार्वजनिक गर्ने अधिकांश लघुवित्त संस्थाहरूमा निष्क्रिय कर्जा (एनपीएल) भने बढेको देखिएको छ। खराब कर्जा बढेसँगै एनपीएलमा समेत वृद्धि भएको हो।
२५ वटा लघुवित्त संस्थामध्ये साना किसान लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी सबैभन्दा बढी रहेको छ। यस संस्थाको चुक्ता पुँजी ४ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। त्यसपछि छिमेक लघुवित्तको चुक्ता पुँजी ३ अर्ब ६१ करोड ७२ लाख रुपैयाँ र डिप्रोक्स लघुवित्तको १ अर्ब ८६ करोड ८२ लाख रुपैयाँ रहेको छ। जगेडा कोषतर्फ पनि साना किसान अग्रस्थानमा रहेको छ, जहाँ ४ अर्ब २५ करोड ३१ लाख रुपैयाँ संचित छ। छिमेक लघुवित्तको जगेडा कोष ३ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। ब्याज आम्दानीतर्फ छिमेक लघुवित्त सबैभन्दा अगाडि देखिएको छ। संस्थाले ६ महिनामा १ अर्ब ४५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन गत वर्षको तुलनामा ७.४५ प्रतिशत बढी हो। गत वर्षको पुससम्म यस संस्थाले १ अर्ब ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको थियो। दोस्रो स्थानमा रहेको डिप्रोक्स लघुवित्तले १ अर्ब ६ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ।
नाफातर्फ पनि छिमेक लघुवित्त अग्रस्थानमै रहेको छ। संस्थाले ६ महिनामा ५७ करोड ६० लाख रुपैयाँ नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२.५५ प्रतिशत बढी हो। गत वर्ष यस संस्थाले ५१ करोड १८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। त्यसपछि डिप्रोक्स लघुवित्तले ४४ करोड २९ लाख रुपैयाँ र साना किसान लघुवित्तले ३८ करोड ९ लाख रुपैयाँ नाफा कमाएका छन्। प्रतिसेयर आम्दानी (EPS)तर्फ अभियान लघुवित्त अग्रस्थानमा रहेको छ। संस्थाको EPS ६१.८९ रुपैयाँ पुगेको छ। त्यसपछि सपोर्ट लघुवित्तको ५१.८७ रुपैयाँ, डिप्रोक्सको ४७.४१ रुपैयाँ र गुराँस लघुवित्तको ४०.२२ रुपैयाँ EPS रहेको छ। प्रतिसेयर नेटवर्थ सबैभन्दा बढी आत्मनिर्भर लघुवित्तको रहेको छ।
निष्क्रिय कर्जा दर (एनपीएल) का आधारमा भने छिमेक लघुवित्त सबैभन्दा बलियो देखिएको छ। संस्थाको एनपीएल २.४५ प्रतिशत मात्र रहेको छ। त्यसपछि आरएसडीसीको २.८४ प्रतिशत, गुराँस लघुवित्तको ३.१३ प्रतिशत र सपोर्ट लघुवित्तको ३.१७ प्रतिशत एनपीएल रहेको छ। यता, नेरुडे मिर्मिरे लघुवित्तको एनपीएल २५.७५ प्रतिशत र मेरो माइक्रोफाइनान्सको १९.४५ प्रतिशत पुगेको छ, जुन चिन्ताजनक मानिएको छ।
नेपाल राष्ट्र बैंक तथा वित्तीय संस्था ऐन, २०६३ अन्तर्गत नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त संस्थालाई लघुवित्त वित्तीय संस्था भनिन्छ। हाल नेपालमा ६५ भन्दा बढी लघुवित्त वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन्। यी संस्थाहरूले विशेषगरी विपन्न, न्यून आयस्तर भएका व्यक्ति तथा महिलालाई लक्षित गर्दै वित्तीय सेवा प्रवाह गर्दै आएका छन्।
लघुवित्त वित्तीय संस्थाले आफ्ना सदस्यहरूबाट नियमित बचत संकलन गरी सामूहिक जमानीको आधारमा विनाधितो लघु कर्जा प्रवाह गर्छन्। यसका साथै स्वीकारयोग्य धितोको आधारमा लघुउद्यम तथा साना व्यवसाय सञ्चालनका लागि कर्जा उपलब्ध गराइन्छ। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रमा पुगेर लघुवित्त संस्थाले वित्तीय साक्षरता, बचत संकलन, कर्जा प्रवाह तथा वित्तीय शिक्षा प्रदान गर्दै आएका छन्।
नेपालमा विभिन्न गरीबी न्यूनीकरणका कार्यक्रम सञ्चालन भए तापनि लघुवित्तका कार्यक्रमहरू मुख्यतः ग्रामीण तथा पिछडिएको क्षेत्रमा केन्द्रित छन्। लघुवित्त बैंकिङ सेवाको सुरुवातसँगै औपचारिक बैंकिङ सेवामा पहुँच नपुगेका समुदायलाई नयाँ वित्तीय समाधान उपलब्ध भएको छ। यसले ग्रामीण तथा अर्धशहरी क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित, भरपर्दो र सहज बैंकिङ सेवा प्रदान गर्दै वित्तीय समावेशीकरणलाई बलियो बनाएको छ। लघुवित्तीय संस्थाले ग्रामीण विकास, स्वरोजगार सिर्जना तथा आर्थिक सशक्तीकरणमार्फत राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउँदै आएका छन्।
के छन् लघुवित्त वित्तीय संस्थाका उद्देश्य ?
लघुवित्त वित्तीय संस्थाको मुख्य उद्देश्य लक्षित क्षेत्रका महिलाको आवश्यकता सम्बोधन गर्नु र उनीहरूको सशक्तीकरण प्रक्रियालाई सहयोग पुर्याउनु हो। सदस्यहरूमाझ सामूहिक भावना विकास गर्ने, आत्मविश्वास र क्षमतामा अभिवृद्धि गर्ने तथा सामूहिक निर्णय क्षमताको विकास गर्नु पनि लघुवित्तका प्रमुख उद्देश्य हुन्।
महिलामा बचत गर्ने बानीको विकास गर्दै आफ्नै पूँजी स्रोत निर्माणमा सहजीकरण गर्नु, सामाजिक उत्तरदायित्व वहन गर्न उत्प्रेरित गर्नु र कर्जाको सही उपयोगमार्फत आयस्तर वृद्धि गर्नु लघुवित्तका महत्वपूर्ण उद्देश्य हुन्। साथै, सम्भावित जोखिम सामना गर्न सक्षम बनाउँदै आत्मनिर्भरता र आत्मसम्मान अभिवृद्धि गर्नु पनि लघुवित्तको लक्ष्य हो। यसरी लघुवित्तले ग्रामीण तथा पिछडिएको क्षेत्रको गरीबी न्यूनीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ।
लघुवित्त क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रभावकारी नियमन, नियमित फिल्ड सुपरिवेक्षण र ब्याजदरमा पारदर्शिता आवश्यक देखिन्छ। दक्ष जनशक्ति उत्पादन, कर्मचारीलाई नियमित तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्नु अपरिहार्य छ। साथै, नाफामुखीभन्दा सेवामुखी दृष्टिकोण अवलम्बन गर्दै अनुशासन उल्लंघन गर्ने तथा कर्जा नतिर्ने प्रवृत्तिविरुद्ध कडाइका साथ कारबाही गर्नुपर्ने देखिन्छ।
लघुवित्त कर्जाको वर्गीकरण व्यवस्था
नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार लघुवित्त वित्तीय संस्थाले प्रवाह गरेको कर्जालाई भुक्तानी अवधिका आधारमा वर्गीकरण गरिएको छ। भाखा ननाघेका तथा एक महिनासम्म भाखा नाघेका कर्जालाई असल कर्जा मानिन्छ। एक महिनादेखि तीन महिनासम्म भाखा नाघेका कर्जालाई सूक्ष्म निगरानीमा राखिने कर्जा, तीन महिनादेखि छ महिनासम्म भाखा नाघेका कर्जालाई कमसल, छ महिनादेखि एक वर्षसम्म भाखा नाघेका कर्जालाई शंकास्पद तथा एक वर्षभन्दा बढी समय भाखा नाघेका कर्जालाई खराब कर्जा मानिन्छ।
यस वर्गीकरणअनुसार न्यूनतम कर्जा नोक्सानीको व्यवस्था गर्नुपर्ने प्रावधान छ, जसमा १.३ प्रतिशतदेखि शतप्रतिशतसम्म नोक्सानी व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ। असल तथा सूक्ष्म निगरानीमा रहेका कर्जालाई सक्रिय कर्जा र कमसल, शंकास्पद तथा खराब कर्जालाई निष्क्रिय कर्जा मानिन्छ।
लघुवित्तबाट कर्जा लिन के–के प्रकिया पुरा गर्नु पर्छ ?
‘घ’ बर्गको बैंक अर्थात लघुवित्तले गाउँ घरमा एक समुह बनाएको हुन्छ, जसमार्फत ऋण मात्र लिन होइन कि, बचत पनि गर्न सकिन्छ । त्यस्तै, लघुवित्तले समूहको बचत मार्फत उठेको पैसाले नै ऋणीलाई ऋण उपलव्ध गर्ने गर्दछ भने नपुग ऋण लघुवित्तले उपलब्ध गराउने गर्छ । साथै, त्यस समुहमा बसेको सदस्यहरुलाई कम व्याजमा ऋण उपलव्ध हुन्छ, भने समूहमा नबसेको व्यक्ति वा संस्थालाई अलि बढी व्याजदर कायम गरेको हुन्छ । त्यसैले समूहमा नबसेको व्याक्तिलाई पनि लघुवित्तले ऋण उपलब्ध गराउने छ ।
लघुवित्तले अहिले गाँउ घरमा रहेको समूहमा धितो विनाको ऋण उपलब्ध गर्दै आएको छ । यस्तो ऋण प्राप्त गर्नको लागि सो समूहको बैठक बसेर लघुवित्तले समूहको जिम्मेवारीमा ७ लाख सम्म धितो लगानी गर्र्दै आएको छ । यस्तो रकम प्राप्त गर्नको लागि आफुले लगानी गर्ने क्षेत्रको बारेमा खुलाउनु पर्ने हुन्छ ।
कुन क्षेत्रको लागि पैसा चाहिएको हो, सो को आधारमा लघुवित्तले पैसा उपलव्ध गर्ने व्यवस्था रहेको छ । अथवा त्यस समूहको सदस्यहरुको साथै, लघुवित्तको कर्मचारीहरुले ऋणीको आवश्यकता हेरेर समुहमा उठेको पैसा लगानी गर्ने गर्छ । जसमा ऋणीको नागरिकताको फोटोकपी, सिफारितपत्र, कुनै फर्म भए त्यसको प्रमाणपत्रको प्रतिलिपी लगायत कागजपत्र राखेर लघुवित्तले ऋण उपलव्ध गराउने छ ।


