संयुक्त राज्य अमेरिका र इजरायलले २८ फेब्रुअरीमा इरानमाथि संयुक्त सैन्य कारबाही गरेपछि मध्यपूर्व पुनः विश्व भूराजनीतिक तनावको केन्द्रमा पुगेको छ। उक्त आक्रमणपछि इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनी मारिएको र आणविक भट्टीहरूमा गम्भीर क्षति पुगेको खबर सार्वजनिक भएसँगै क्षेत्रीय शक्ति सन्तुलनमा ठूलो हलचल आएको छ। घटनाको ४८ घण्टा नबित्दै यसको प्रत्यक्ष प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा देखिन थाल्यो, जसले तेल आयातमा निर्भर अर्थतन्त्रहरू—विशेषगरी भारत र नेपाल—लाई उच्च सतर्कतामा राखेको छ।
युद्धको सुरुवातसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उछाल देखियो। केही दिनअघिसम्म प्रतिब्यारेल ७२ अमेरिकी डलर हाराहारी रहेको Brent Crudeको मूल्य ह्वात्तै बढेर ८४ डलर नजिक पुगेको छ भने WTI Crude पनि ७७ डलर पार गरेको छ। ऊर्जा विश्लेषकहरूका अनुसार यदि द्वन्द्व लम्बियो र आपूर्ति मार्ग अवरुद्ध भए भने मूल्य १०० डलर नाघ्ने जोखिम उच्च छ। तेल मूल्यको यस्तो उछालले विश्वव्यापी आपूर्ति शृङ्खलामा असर पार्दै मुद्रास्फीति चर्काउने संकेत देखिएको छ।
यस संकटको केन्द्रमा रहेको समुद्री मार्ग हो—Strait of Hormuz। विश्वको करिब २० प्रतिशत कच्चा तेल यही जलडमरूबाट ओसारपसार हुन्छ। इरानले उक्त मार्ग बन्द गर्ने चेतावनी दिएको छ र त्यहाँ देखिने जहाजमा हमला गर्न सकिने संकेत दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यदि यो मार्ग अवरुद्ध भयो भने तेल आपूर्ति तत्काल प्रभावित हुनेछ र विश्व अर्थतन्त्रमा गम्भीर धक्का लाग्नेछ। बीमा शुल्क आकासिन थालेकाले युद्ध क्षेत्र हुँदै आवतजावत गर्ने जहाजहरूको लागत बढेको छ, जसले समुद्री व्यापार महँगो बनाएको छ।
तनाव थप चर्किँदै जाँदा कतारले पनि आफ्नो ऊर्जा पूर्वाधारमा ड्रोन आक्रमण भएपछि तरल प्राकृतिक ग्यास (एलएनजी) उत्पादन रोकेको घोषणा गरेको छ। सरकारी स्वामित्वको QatarEnergyले रास लफान र मेसाइद औद्योगिक क्षेत्रमा रहेका उत्पादन केन्द्र अनिश्चितकालका लागि बन्द गरिएको जनाएको छ। विश्वको करिब २० प्रतिशत एलएनजी आपूर्ति गर्ने कतारको यो कदमले युरोप र एसियामा ग्यास मूल्य एकैदिन ५० प्रतिशतसम्म बढाएको छ। ऊर्जा बजारमा देखिएको यस्तो उथलपुथलले तेल मात्र होइन, ग्यास र विद्युत् उत्पादनमा समेत असर पार्नेछ।
तेलको तेस्रो ठूलो आयातकर्ता भारतका लागि यो संकट विशेष अर्थ राख्छ। भारतले आफ्नो आवश्यकताको करिब ८८ प्रतिशत कच्चा तेल आयात गर्छ र दैनिक ५५–५६ लाख ब्यारेल खपत गर्छ। भारतले मुख्यतः रुस, इराक र साउदी अरबबाट कच्चा तेल आयात गर्ने भए पनि मध्यपूर्वको हिस्सा अझै ४४ देखि ४६ प्रतिशत हाराहारी छ। पछिल्लो समय रुसबाट आयात बढेर ३५–४० प्रतिशत पुगेको छ, जसले केही हदसम्म विविधीकरण दिएको छ। तर स्ट्रेट अफ हर्मुज अवरुद्ध भएमा मध्यपूर्वबाट आउने आपूर्ति रोकिँदा भारतको ऊर्जा सुरक्षामा गम्भीर असर पर्न सक्छ।
भारत केवल उपभोक्ता मात्र होइन, एसियाकै ठूलो तेल प्रशोधन केन्द्र पनि हो। गुजरातको जामनगरस्थित विशाल रिफाइनरीहरूबाट भारतले प्रशोधित डिजेल, पेट्रोल र हवाई इन्धन विश्व बजारमा निर्यात गर्दै आएको छ। सन् २०२५ मा भारतले दैनिक १२ लाख ८० हजार ब्यारेल प्रशोधित इन्धन निर्यात गरेर नयाँ रेकर्ड बनाएको थियो। नेदरल्यान्ड्स हुँदै युरोप, सिंगापुर र यूएईमार्फत पुनः निर्यात, साथै अमेरिका र अस्ट्रेलियाजस्ता मुलुकलाई आपूर्ति गर्दै भारतले विश्व ऊर्जा व्यापारमा महत्वपूर्ण स्थान ओगटेको छ। तर कच्चा तेल महँगो हुँदा र बीमा तथा ढुवानी लागत बढ्दा भारतीय रिफाइनरीहरूको लागत पनि बढ्नेछ।
भारतमा हालसम्म उपभोक्ताका लागि इन्धन मूल्य तत्कालै नबढाइए पनि विश्व बजारमा बढेको मूल्यले व्यापार घाटा र विदेशी मुद्रा सञ्चितिमा दबाब पार्नेछ। कच्चा तेल महँगो हुँदा डलरको माग बढ्नेछ, जसले भारतीय रुपैयाँमा अवमूल्यनको दबाब सिर्जना गर्न सक्छ। भारतीय मुद्रा कमजोर हुँदा नेपाली रुपैयाँ पनि स्वतः कमजोर हुने भएकाले नेपालमा आयात महँगिने जोखिम रहन्छ।
नेपाल पूर्ण रूपमा भारतबाट इन्धन आयातमा निर्भर छ। नेपाल आयल निगमले Indian Oil Corporationबाट प्रशोधित इन्धन खरिद गर्छ। चालु आर्थिक वर्षको सात महिनामा मात्र नेपालले १ खर्ब ८० अर्ब ७४ करोड रुपैयाँ बराबर पेट्रोलियम पदार्थ आयात गरेको छ। अघिल्ला दुई आर्थिक वर्षमा पनि २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको तथ्यांकले नेपालको उच्च परनिर्भरता स्पष्ट गर्छ।
नेपालमा नुनदेखि सुनसम्म र खाद्यान्नदेखि लत्ताकपडासम्म सबै वस्तु डिजेलबाट चल्ने मालवाहक सवारीमार्फत ढुवानी हुन्छन्। त्यसैले डिजेलको मूल्यमा सामान्य वृद्धि हुँदा पनि ढुवानी भाडा बढ्छ र त्यसले समग्र बजार भाउमा श्रृङ्खलाबद्ध असर पार्छ। इन्धन महँगो भएलगत्तै निर्माण सामग्री, कृषि उत्पादन, उद्योगको कच्चा पदार्थ र उपभोग्य वस्तुको मूल्य स्वतः बढ्ने निश्चितजस्तै हुन्छ।
नेपाल आयल निगमले हरेक १५ दिनमा मूल्य समायोजन गर्ने भएकाले अन्तर्राष्ट्रिय बजारमा भएको वृद्धि आगामी मूल्यसूचीमा प्रतिबिम्बित हुन सक्छ। निगमसँग २० अर्ब रुपैयाँको मूल्य स्थिरीकरण कोष रहेको र सानो मूल्यवृद्धि त्यसले थेग्न सक्ने दाबी गरिएको छ। साथै भारतसँग पाँच वर्षे सम्झौता भएकाले आपूर्ति नै रोकिने अवस्था नरहेको अधिकारीहरूको भनाइ छ। निगमका अनुसार हालको भण्डारण क्षमता पूरै आपूर्ति रोकिए करिब १० दिनको माग धान्न सक्ने छ।
तर ऊर्जा विज्ञहरू नेपाल उच्च जोखिममा रहेको बताउँछन्। पूर्ववाणिज्य तथा आपूर्ति सचिव पुरुषोत्तम ओझाका अनुसार नेपाल पूर्ण रूपमा भारतमा निर्भर छ र भारतको आपूर्ति अन्तर्राष्ट्रिय बजारमा निर्भर हुने भएकाले ‘दोहोरो मार’ पर्ने सम्भावना छ। मूल्य बढ्ने मात्र होइन, आपूर्तिमा अवरोध आउन सक्ने जोखिम पनि उत्तिकै छ। उनका अनुसार ९० दिनको इन्धन भण्डारण क्षमता निर्माण गर्ने योजना वर्षौंदेखि अलपत्र रहनु नेपालको रणनीतिक कमजोरी हो।
भारतसँग दीर्घकालीन सम्झौता रहे पनि अन्तर्राष्ट्रिय बजारमा चरम संकट उत्पन्न भए आईओसीले प्राथमिकता आन्तरिक बजारलाई दिन सक्छ। त्यस्तो अवस्थामा नेपालमा आपूर्ति ढिलाइ वा कटौती हुन सक्ने अनुमान विज्ञहरूले गरेका छन्। विगतका नाकाबन्दी अनुभवले पनि नेपाललाई वैकल्पिक आपूर्ति र पर्याप्त भण्डारण संरचना आवश्यक रहेको पाठ सिकाएको थियो, तर ठोस प्रगति हुन सकेको छैन।
तेल संकटको प्रभाव केवल यातायातमा सीमित रहने छैन। निर्माण क्षेत्र, उद्योग र कृषि प्रत्यक्ष प्रभावित हुनेछन्। डिजेलमा निर्भर सिंचाइ प्रणाली, ट्र्याक्टर र थ्रेसर महँगो हुँदा उत्पादन लागत बढ्नेछ। उद्योगमा कच्चा पदार्थ ढुवानी र उत्पादित वस्तु वितरण महँगो हुनेछ। यसले मुद्रास्फीति चर्काउने र न्यून आय वर्गलाई सबैभन्दा बढी मार पार्नेछ।
यदि कच्चा तेलको मूल्य १०० डलर नाघ्यो भने नेपाल आयल निगमको घाटा बढ्नेछ। महँगो डलरमा महँगो तेल किन्नुपर्दा वित्तीय दबाब बढ्नेछ र अन्ततः उपभोक्तामाथि भार पर्नेछ। सरकारले कर घटाएर अस्थायी राहत दिन सक्ने भए पनि राजस्वमा असर पर्नेछ। एक लिटर पेट्रोलमा करको हिस्सा उल्लेख्य रहेकाले कर कटौती अन्तिम विकल्पका रूपमा प्रयोग गर्न सकिने अधिकारीहरूको भनाइ छ।
हाल निगमले आपूर्ति प्रणाली ‘निरन्तर प्रवाह’ मोडेलमा सञ्चालन हुने बताउँदै उपभोक्तालाई आत्तिन नआग्रह गरेको छ। तर विश्व बजारको अनिश्चितता, स्ट्रेट अफ हर्मुजमा सम्भावित अवरोध र कतारको एलएनजी उत्पादन रोकिँदा देखिएको संकटले ऊर्जा सुरक्षाको दीर्घकालीन रणनीति आवश्यक रहेको स्पष्ट पारेको छ।
समग्रमा अमेरिका–इजरायलको सैन्य कारबाहीपछि चर्किएको मध्यपूर्व तनावले विश्व ऊर्जा बजारमा ठूलो उथलपुथल ल्याएको छ। यसको प्रत्यक्ष प्रभाव भारतजस्तो विशाल आयातकर्तामार्फत नेपालसम्म आइपुग्ने निश्चित देखिन्छ। तेल मूल्य वृद्धिले मुद्रास्फीति, व्यापार घाटा, विदेशी मुद्रा सञ्चिति र समग्र आर्थिक स्थिरतामा दबाब पार्नेछ। संकट दीर्घकालीन बनेमा नेपालले ऊर्जा भण्डारण, आपूर्ति विविधीकरण र वैकल्पिक ऊर्जामा लगानीजस्ता संरचनागत सुधार नगरी भविष्यका झट्का सामना गर्न कठिन हुने स्पष्ट संकेत देखिएको छ।


