Banijya News

पश्चिम एसियाको युद्धले नेपाली श्रमिक संकटमा : न रोजगारी बच्ने आशा, न ज्यान

1
1.1K Shares

पश्चिम एसियामा बढ्दो सैन्य तनाव र युद्धको प्रभाव क्रमशः त्यहाँ कार्यरत नेपाली श्रमिकहरूमा देखिन थालेको छ । पश्चिम एसियाको युद्ध कहिले अन्त्य हुन्छ भन्ने स्पष्ट संकेत नदेखिएकाले त्यहाँ रहेका नेपाली श्रमिकहरूमा अनिश्चितता बढेको छ । काम गुम्ने डर, स्वदेश फर्किएपछि रोजगारीको अनिश्चितता र युद्धको जोखिमले धेरै नेपालीहरू चिन्तित बनेका छन् । अहिलेसम्म समस्या सीमित देखिए पनि युद्ध लम्बिएमा पश्चिम एसियामा रहेका लाखौँ नेपाली श्रमिकहरू प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने विश्लेषण गरिएको छ । त्यसैले सरकार, दूतावास र सम्बन्धित निकायहरू अहिलेबाटै सम्भावित संकटको व्यवस्थापनका लागि तयारीमा जुटिरहेका छन् ।

यद्यपि हालसम्म ठूलो संख्यामा नेपालीहरूले रोजगारी गुमाएको अवस्था नभएपनि आगामी दिनमा विशेष गरी आतिथ्य, सेवा र निर्माण क्षेत्रमा काम गर्ने नेपालीहरू समस्यामा पर्न सक्ने संकेत देखिएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद क्षेत्रीका अनुसार तत्काल व्यापक रूपमा रोजगारी गुम्ने अवस्था नदेखिएपनि युद्ध लम्बिँदै जाँदा विभिन्न क्षेत्रमा असर पर्ने सम्भावना बढ्दै गएको छ । उनले पश्चिम एसियाली क्षेत्रमा रहेका नेपालीहरूको अवस्थाबारे सरकार निरन्तर निगरानीमा रहेको र आवश्यक समन्वय तथा पहल भइरहेको बताएका छन् । “हालसम्म ठूलो संख्यामा नेपालीले रोजगारी गुम्ने जोखिम देखिएको छैन, तर हस्पिटालिटी, सेवा र निर्माण क्षेत्रमा केही असर पर्ने संकेत देखिन थालेको छ,” उनले बताएका छन् ।

फागुन १६ गते अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आकस्मिक आक्रमण गरेपछि पश्चिम एसियाको अवस्था थप तनावपूर्ण बनेको हो । त्यसपछि इरानले इजरायलमाथि प्रत्याक्रमण सुरु गरेको थियो । यस घटनापछि क्षेत्रीय द्वन्द्व विस्तार हुने जोखिम बढेको छ । इरानले पछिल्लो समय युएई, साउदी अरब, कतार, कुवेत, बहराइन, ओमान, इराक र जोर्डन लगायतका देशमा रहेका अमेरिकी सैन्य अड्डा र अमेरिकी लगानीका कम्पनीहरूलाई लक्षित गर्दै आक्रमण गर्ने प्रयास गरेको बताइएको छ । यसले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ ।

यस युद्धका क्रममा हालसम्म २८ जना नेपाली घाइते भएका छन् भने एक जनाको मृत्यु भएको जानकारी सरकारी स्रोतहरूले दिएका छन्। युद्धको प्रभाव प्रत्यक्ष रूपमा नेपाली श्रमिकहरूको सुरक्षासँगै उनीहरूको रोजगारीमा पनि देखिन थालेको छ ।

पश्चिम एसियाका धेरै देशहरूमा नेपाली श्रमिकहरू मुख्यतः होटल, रेस्टुरेन्ट, सेवा क्षेत्र, सुरक्षा सेवा तथा निर्माण क्षेत्रमा कार्यरत छन् । युद्धका कारण पर्यटन घट्ने, लगानी सुस्ताउने र परियोजनाहरू स्थगित हुने अवस्था सिर्जना हुँदा यी क्षेत्रहरूमा काम गर्ने श्रमिकहरू जोखिममा पर्न थालेका छन् । रोजगारदाता कम्पनीहरूले व्यवसाय घट्दै गएको भन्दै केही श्रमिकहरूलाई बेतलबी बिदामा बस्न आग्रह गर्ने वा घर फर्किन सुझाव दिन थालेका गुनासोहरू दूतावासहरूमा आउन थालेका छन् । अहिले यस्तो संख्या धेरै नभए पनि युद्ध लम्बिएमा समस्या गम्भीर बन्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

युएईमा सबैभन्दा ठूलो असरको सम्भावना

युएईमा नेपाली श्रमिकहरूको संख्या सबैभन्दा धेरै भएकाले युद्धको प्रभाव पनि त्यहीँ बढी पर्ने अनुमान गरिएको छ । युएईस्थित नेपाली महावाणिज्यदूतावासका अनुसार केही कम्पनीहरूले आर्थिक समस्या देखाउँदै श्रमिकहरूलाई काम नदिने वा घर फर्किन सुझाव दिन थालेका छन् । महावाणिज्यदूतावासका प्रतिनिधिहरूका अनुसार केही कम्पनीहरूले “अब काम उपलब्ध छैन, टिकट काटिदिन्छौँ, घर फर्किनुहोस्” भन्ने प्रस्ताव राखेका घटनाहरू पनि आएको छ । साथै कतिपयलाई बेतलबी बिदामा बस्न आग्रह गरिएको जानकारी पनि आएको छ । यस्ता गुनासोहरू आएपछि दूतावासले सम्बन्धित कम्पनीहरूसँग छलफल गरेर समाधान खोज्ने प्रयास गरिरहेको जनाएको छ ।

बहराइनमा पनि समस्या देखिन थाल्यो

बहराइनमा पनि होटल, रेस्टुरेन्ट तथा अन्य सेवा क्षेत्रमा कार्यरत नेपालीहरूबाट समस्या आउन थालेको छ । बहराइनका लागि नेपाली राजदूत तीर्थराज वाग्लेले केही नेपाली श्रमिकहरूले रोजगार असुरक्षा सम्बन्धी गुनासो ल्याउन थालेको बताएका छन् । उनका अनुसार कम्पनीहरूले व्यवसाय घटेको भन्दै श्रमिकहरूलाई स्वदेश फर्किन सुझाव दिन थालेका छन् । अहिले यस्तो संख्या ठूलो नभए पनि समस्या बढ्ने सम्भावना रहेको उनले बताएका छन् ।

चाहेर पनि स्वदेश फर्कन सक्दैनन्
बहराइनमा हाल विमानस्थल बन्द भएकाले स्वदेश फर्किन चाहने नेपालीहरूलाई कठिनाइ भइरहेको छ । यदि त्यहाँ रहेका नेपालीहरू नेपाल फर्कन चाहेमा उनीहरू साउदी अरेबिया हुँदै फर्किनुपर्ने अवस्था रहेको छ । यसका लागि साउदी अरेबियाको भिसा लिनुपर्ने, त्यसपछि मात्र हवाई यात्रा गर्न सकिने भएकाले खर्च पनि धेरै हुने समस्या देखिएको छ । त्यसैले धेरै नेपालीहरू अहिले द्विविधामा परेका छन्—यतै बस्ने कि स्वदेश फर्कने । कतिपयले युद्ध चाँडै अन्त्य हुने आशामा काम नगरी पनि बसिरहेका छन् भने कतिपय स्वदेश फर्किएपछि फेरि काम पाउने अनिश्चितताले निर्णय लिन सकेका छैनन् ।

कतार र कुवेतमा पनि चिन्ता
कतार र कुवेतमा पनि केही नेपाली श्रमिकहरूले रोजगार असुरक्षाबारे दूतावासमा जानकारी दिन थालेका छन् । विशेष गरी होटल, सेवा तथा निर्माण क्षेत्रमा कार्यरत श्रमिकहरू बढी प्रभावित हुने सम्भावना देखिएको छ । दूतावास स्रोतहरूका अनुसार अहिले समस्या धेरै ठूलो नभए पनि युद्ध लम्बिएमा रोजगारी गुमाउने नेपालीहरूको संख्या उल्लेखनीय रूपमा बढ्न सक्ने अनुमान गरिएको छ ।
ओमानमा प्रभाव न्यून

ओमानमा भने हालसम्म यस्तो समस्या खासै देखिएको छैन । ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालका अनुसार त्यहाँ कार्यरत नेपालीहरूबाट रोजगारी गुम्ने वा काममा समस्या परेको भन्ने गुनासो आएको छैन । ओमान पश्चिम एसियाली द्वन्द्वबाट तुलनात्मक रूपमा कम प्रभावित भएकाले त्यहाँको अवस्था अहिले स्थिर रहेको बताइएको छ ।
सरकारको उच्चस्तरीय अध्ययन कार्यदल
पश्चिम एसियामा बढ्दो तनावका कारण त्यहाँ रहेका नेपालीहरू समस्यामा पर्न सक्ने सम्भावना बढेपछि नेपाल सरकारले त्यसको प्रभावबारे अध्ययन गर्न उच्चस्तरीय अन्तर–मन्त्रालय कार्यदल गठन गरेको छ । परराष्ट्रमन्त्री शिखिर खनालको संयोजकत्वमा गठन गरिएको उक्त कार्यदलमा विभिन्न मन्त्रालयका सचिवहरू सदस्यका रूपमा रहेका छन् । कार्यदलमा परराष्ट्र, अर्थ, उद्योग, श्रम, ऊर्जा, पर्यटन तथा गृह मन्त्रालयका सचिवहरू सहभागी छन् । यस कार्यदललाई सात दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ । प्रतिवेदनमा अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन नीतिगत उपायहरू समेटिने बताइएको छ ।

आर्थिक प्रभावको अध्ययन
कार्यदलले पश्चिम एसियाको वर्तमान परिस्थितिको विस्तृत अध्ययन गरी त्यसले नेपालको अर्थतन्त्रमा पार्ने प्रभावहरूको मूल्यांकन गर्नेछ । विशेष गरी रेमिट्यान्स, ऊर्जा, पर्यटन, कृषि, उद्योग, लगानी तथा इन्धन आपूर्तिमा पर्ने सम्भावित असरबारे अध्ययन गरिनेछ । पश्चिम एसिया नेपालका लागि रेमिट्यान्सको प्रमुख स्रोत भएकाले त्यहाँको अस्थिरताले नेपालको अर्थतन्त्रमा पनि ठूलो प्रभाव पार्न सक्ने अनुमान गरिएको छ ।
रेमिट्यान्समा असर पर्ने चिन्ता
नेपालको कुल वैदेशिक रोजगारीमध्ये ठूलो हिस्सा पश्चिम एसियाली देशहरूमा केन्द्रित छ । ती देशहरूबाट आउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण योगदान दिँदै आएको छ । यदि युद्धका कारण ठूलो संख्यामा नेपाली श्रमिकहरू स्वदेश फर्किन बाध्य भए भने त्यसले रेमिट्यान्समा गिरावट ल्याउन सक्छ । यसले नेपालको विदेशी मुद्रा सञ्चिति र आर्थिक स्थायित्वमा पनि असर पार्न सक्छ ।

श्रमिक सुरक्षामा सरकारको प्राथमिकता
सरकारले अहिले पश्चिम एसियामा रहेका नेपालीहरूको सुरक्षा र अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । आवश्यक परेमा उद्धार, स्वदेश फिर्ता र राहतका कार्यक्रम सञ्चालन गर्न तयारी अवस्थामा रहेको पनि सरकारी अधिकारीहरूले बताएका छन् । दूतावास र कूटनीतिक नियोगहरूलाई पनि त्यहाँ रहेका नेपालीहरूको अवस्थाबारे नियमित जानकारी संकलन गर्न निर्देशन दिइएको छ ।

पश्चिम एसियामा लाखौँ नेपाली श्रमिक
परराष्ट्र मन्त्रालयको तथ्याङ्कअनुसार पश्चिम एसियाका विभिन्न देशमा लाखौँ नेपाली श्रमिक कार्यरत छन् । सबैभन्दा ठूलो संख्या संयुक्त अरब इमिरेट्स (युएई) मा रहेको छ, जहाँ करिब सात लाख नेपाली काम गरिरहेका छन् । त्यसपछि साउदी अरबमा ३ लाख ८४ हजार ८६५, कतारमा ३ लाख ५७ हजार ९१३ र कुवेतमा करिब १ लाख ७५ हजार नेपाली श्रमिक कार्यरत छन् । त्यस्तै बहराइनमा करिब २८ हजार, ओमानमा २५ हजार, इराकमा ३० हजार, साइप्रसमा १७ हजार, इजरायलमा करिब ६ हजार ५००, लेबनानमा १ हजार ५००, इजिप्टमा करिब ५०० र इरानमा १० जना नेपाली रहेको तथ्याङ्कले देखाउँछ । यी सबै देशहरू पश्चिम एसियाली क्षेत्रका राजनीतिक तथा सैन्य तनावसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित भइरहेका छन् ।

1

Scroll to Top