भारत सरकारले सुन र चाँदीको आयातमा लाग्ने भन्सार शुल्क उल्लेखनीय रूपमा वृद्धि गर्दै ६ प्रतिशतबाट बढाएर १५ प्रतिशत पु¥याएको छ। मंगलबार जारी गरिएको सरकारी आदेशअनुसार यो निर्णय देशको बढ्दो व्यापार घाटा नियन्त्रण गर्न र कमजोर बन्दै गएको भारतीय रुपैयाँलाई थप दबाबबाट जोगाउन लक्षित गरिएको हो।
नयाँ व्यवस्थाअनुसार सरकारले १० प्रतिशत बेसिक कस्टम ड्युटी र थप ५ प्रतिशत कृषि पूर्वाधार तथा विकास सेस लागू गरेको छ। यसरी कुल प्रभावकारी कर १५ प्रतिशत पुगेको हो। यसअघि सन् २०२४ को मध्यतिर सरकारले सुन आयातमा कर घटाएर ६ प्रतिशत कायम गरेको थियो, जसले केही समयका लागि बजारमा सकारात्मक प्रभाव पारेको थियो।
भारत विश्वकै दोस्रो ठूलो सुन उपभोक्ता राष्ट्र हो। देशले आफ्नो कुल आवश्यकताको झन्डै ९९ प्रतिशत सुन विदेशबाट आयात गर्छ। कुल आयात खर्चमध्ये सुनको हिस्सा मात्र करिब ९ प्रतिशत रहेको बताइएको छ। यस कारण सुनको आयातले विदेशी मुद्रा सञ्चितिमा ठूलो दबाब सिर्जना गर्ने गरेको छ। पछिल्लो समय विदेशी मुद्रा सञ्चिति घट्दो क्रममा रहेको र व्यापार घाटा बढ्दै गएको सन्दर्भमा सरकारले यस्तो कदम चालेको विश्लेषण गरिएको छ।
सरकारको यो निर्णयलाई आर्थिक रूपमा आवश्यक कदमका रूपमा हेरिए पनि व्यवसायीहरूले भने यसको सम्भावित नकारात्मक असरबारे चिन्ता व्यक्त गरेका छन्। विशेषगरी, उच्च करदरका कारण सुनको तस्करी पुनः बढ्न सक्ने उनीहरूको भनाइ छ। यसअघि कर घटाइएपछि अवैध रूपमा सुन भित्र्याउने गतिविधिमा कमी आएको थियो। तर अहिले कर वृद्धिले पुनः तस्करीलाई प्रोत्साहन दिन सक्ने आशंका गरिएको छ।
यसका साथै, सुनको मूल्यमा हुने सम्भावित वृद्धिले बजारमा माग घट्ने अनुमान पनि गरिएको छ। विवाह, चाडपर्व र सांस्कृतिक अवसरहरूमा सुनको प्रयोग व्यापक हुने भारतमा यसको सीधा असर उपभोक्तामा पर्ने देखिन्छ। मूल्य बढेसँगै उपभोक्ताहरू वैकल्पिक सामग्रीतर्फ आकर्षित हुन सक्ने विश्लेषकहरूको भनाइ छ।
यसैबीच, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले केही समयअघि देशवासीहरूलाई एक वर्षसम्म सुन नकिन्न आग्रह गरेका थिए। उनले विदेशी मुद्रा जोगाउनु अहिलेको समयको देशभक्ति भएको उल्लेख गर्दै विवाह वा अन्य कार्यक्रमहरूमा सुनका गहना खरिद नगर्न अपिल गरेका थिए।
प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि भारतका ठूला ज्वेलरी कम्पनीहरू—टाइटन, कल्याण ज्वेलर्स र सेन्को गोल्ड—को सेयर मूल्यमा करिब १० प्रतिशतसम्म गिरावट आएको थियो। यसले बजारमा नीतिगत परिवर्तनप्रति लगानीकर्ताहरूको संवेदनशीलता देखाएको छ।


