लघुवित्त वित्तीय संस्थाहरुको नाफामा उछाल आएको देखिन्छ । चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको हो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा ५० लघुवित्त संस्थाले कुल ७ अर्ब २४ करोड ४४८ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ४३.१६ प्रतिशत बढी हो । गत आवको तेस्रो त्रैमाससम्ममा लघुवित्त संस्थाहरुले कुल ५ अर्ब ६ करोड ७ लाख रुपैयाँ नाफा कमाएका थिए ।
नेपाल राष्ट्र बैंकले दिएको कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणको व्यवस्थाका कारण लघुवित्त संस्थाहरुको नाफामा वृद्धि हुन सकेको हो । चालु आवको नौ महिनामा संस्थाहरुको औसत ब्याज आम्दानीसँगै नाफा बढेको छ । राष्ट्र बैंकले ऋणीले ५ प्रतिशत ब्याज तिरेर कर्जा पुनर्संरचना गर्न पाउने व्यवस्थाले बैंकहरुको ब्याज आम्दानीमा सुधार देखिएर नाफा बढ्न पुगेको देखिन्छ । केही संस्थाहरुले भने इम्पेयरमेन्ट चार्ज अर्थात् प्रोभिजनिङ गर्नुपर्ने रकम गत आवको तुलनामा घट्दा नाफा बढाउन सफल भएको देखिएको छ ।
सबैभन्दा बढी नाफा कमाउनेमा छिमेक लघुवित्त रहेको छ । यो संस्थाले तेस्रो त्रैमाससम्म ९० करोड ६४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा ६.२० प्रतिशत बढी हो ।
चालु आवको तेस्रो त्रैमाससम्ममा अधिकांश लघुवित्त संस्थाहरुको नाफा बढे पनि केही संस्थाको नाफा भने घटेको छ । सो अवधिसम्ममा विजय लघुवित्त संस्था घाटामा देखिएको छ । संस्थाले तेस्रो त्रैमाससम्म २ करोड ६७ लाख रुपैयाँ घाटा ब्यहोरेको छ ।
लघुवित्त संस्थाहरुको नाफामा सुधार देखिएपनि यता खराब कर्जा अनुपात (एनपीएल)को अवस्था भने निराशाजनक नै रहेको छ । तेस्रो त्रैमाससम्ममा ९ संस्थाले मात्रै एनपीएल घटाएका छन् भने बाँकी सबैको उल्लेख्य बढेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुको एनपीएलको अवस्था ५ प्रतिशत भएमा मात्रै उक्त संस्थाको वित्तीय अवस्था स्वस्थ रहेको मानिन्छ । तर वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्म ९ संस्थाको एनपीएल मात्रै ५ प्रतिशत भन्दा कम देखिएको छ ।
राष्ट्र बैंकले वित्तीय संस्थाहरुको कर्जा असुलीमा समस्या देखिएपछि २०८० असारमा उक निर्देशन जारी गर्दै लघुवित्तबाट लिएको ऋण तिर्न नसकेका ग्राहकहरुलाई ऋण भुक्तान अवधि १ वर्ष थप गरी कर्जाको पु्नर्संरचना वा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको थियो । तर राष्ट्र बैंकले ल्याएको यस्तो सुहलियतका वाबजुत पनि लघुवित्त संस्थाहरुले आफ्नो खराब कर्जा अनुपातको अवस्था सुधार गर्न सकेका छैनन् ।
चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार अधिकांश लघुवित्त संस्थाको लाभांश क्षमता उत्कृष्ट देखिएको छ । सो अवधिसम्ममा १३ संस्थाको लाभांश क्षमता ऋणात्मक देखिएको छ भने बाँकी सबैको धनात्मक रहेको छ । सबैभन्दा धेरै लाभांश क्षमता छिमेक लघुवित्तको ७२.१८ प्रतिशत रहेको देखिएको छ ।
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको एनपीएल र पूँजीकोष अनुपातको आधारमा २५ प्रतिशतसम्म लाभांश दिन पाउने व्यवस्था गरेको छ । संस्थाहरुको लाभांश क्षमता २५ प्रतिशतभन्दा माथि भएतापनि नेपाल राष्ट्र बैंकले तोकेको एनपीएल र पूँजीकोष भएमा मात्रै २५ प्रतिशतसम्म लाभांश बाँड्न पाउनेछन् । तेस्रो त्रैमाससम्म ११ लघुवित्तको लाभांश क्षमता २५ प्रतिशत वा सो भन्दा बढी रहेको छ ।


