ग्लोबल आईएमई बैंकका म्यानेजर पिताम्बर खड्काको आत्महत्या घटना अहिले सर्वत्र चासो र चर्चाको विषय बनेको छ । उनको शव पोष्टमार्टमका लागि दमक अस्पताल पुर्याइएको थियो । पोष्टमार्टमले उनले आत्महत्या गरेका पुष्टि गरेको छ । तर, उनका परिवारले भने बैंकका सीईओसहित चार हाकिम पक्राउ नपरेसम्म शव नबुझ्ने अडान लिएका छन् ।
घटना यस्तो थियो
खड्काले बैंकका सीईओ सुरेन्द्रराज रेग्मी, बैंककी एचआर प्रमुख अनामिका सिंह, बैंकका डेपुटी सीईओ सुमन पोखरेल र दीपचन्द्र रेग्मीको नाम उल्लेख गर्दै फेसबुकमा ‘तिमीहरु हरामखोरले मलाई मार्यौ’ (यू बास्टर्ड किल्ड मी) लेखेर आत्महत्या गरेका थिए । फेसबुकमा स्ट्याटस लेखिसकेपछि खड्काले घरको भुईतल्लामा गई प्लाष्टिकको डोरीको पासो लगाएर प्राण त्यागेका थिए ।
उनको बुवा महेश खड्काले छोरा झुन्डिएको अवस्थामा फेला परेपछि प्रहरीलाई खबर गरेका थिए । घटनालगत्तै प्रहरी निरीक्षक नवीन राईको कमान्डमा घटनास्थल पुगेको टोलीले शवको मुचुल्का तयार गरी पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको थियो ।
उनी ग्लोबल आईएमई बैंकका कर्मचारी थिए । पछिल्लो समय बैंकले उनलाई बैंकबाट राजीनामा दिन दबाब लिएको र खड्काले आत्महत्या गरेकै दिन उनको राजीनामा स्वीकृत भएको बताइएको छ ।
घटना भएको दिन बैंकका सीईओ सुरेन्द्रराज रेग्मी भने देशमै नरहेको बुझिएको छ । उनी हाल जर्मनीमा रहेको बैंकका अन्य अधिकारीले जानकारी दिए । घटनालगत्तै अनामिका सिंह भने अरुसँग सम्पर्कविहीन भएको र बैंकका सीईओ, डेपुटी सीईओ र लिगल टिमसँग मात्र सम्पर्कमा रहेको बताइएको छ । उनले अत्यधिक दबाब दिएकै कारण खड्काले आत्महत्याको बाटो रोजेको संकेत फेसबुक स्ट्याटसले गरेपछि सिंहले कानुनी परामर्श सुरु गरेकी हुन् ।
प्रहरीले सीईओसहितको टोलीलाई आत्महत्या दुरुत्साहनको मुद्दामा अनुन्धान गर्न सक्ने सम्भावना रहेको छ । बैंकको सिनियर व्यवस्थापन टोली नै आत्महत्या दुरुत्साहनको मुद्दामा फस्न सक्ने सम्भावना बढेपछि बैंकको कानुनविज्ञ टोली दमक जाने बुझिएको छ ।


