नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) एक खर्ब निक्षेप संकलन गर्ने भएको छ । केन्द्रीय बैंकले बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गर्न आज एकैदिन १ खर्ब निक्षेप संकलन गर्ने भएको हो ।
केन्द्रीय बैंकले ६१ दिनको लागि निक्षेप संकलन उपकरणको बोलकबोल तथा निष्काशन गर्ने भएको हो । ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ भने साँवा तथा ब्याज भुक्तानी साउन ६ गते हुनेछ । बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलनको लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता क्रममा राखी आह्वान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिने केन्द्रीय बैंकले जनाएको छ । निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन ।
यस अघि बैशाख १७ गते पनि नेपाल राष्ट्र बैंकले एकैदिन १ खर्ब २० अर्ब निक्षेप संकलन गरेको थियो ।
कर्जा प्रवाह हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरूमा लगानीयोग्य रकम थुप्रिनेक्रम जारी छ । अहिले बैंकिङ प्रणालीमा तरलता अत्यधिक छ तर कर्जा माग कमजोर छ। नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार बैंकिङ प्रणालीको सिडी रेसीयो करिब ७३ प्रतिशतमा झरेको छ, जसले बैंकहरूसँग लगानीयोग्य रकम धेरै रहेको संकेत गर्छ।
नेपालको बैंकिङ प्रणाली अहिले अधिक तरलताको अवस्थाबाट गुज्रिरहेको छ। बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप बढिरहेको भए पनि कर्जा प्रवाह अपेक्षाअनुसार बढ्न सकेको छैन। उद्योग–व्यवसाय सुस्त हुँदा नयाँ लगानी विस्तार हुन सकेको छैन। निर्माण क्षेत्र, रियल स्टेट, व्यापार तथा उत्पादन क्षेत्रमा अपेक्षित गतिविधि नहुँदा बैंकबाट ऋण लिन चाहने ग्राहक घटेका छन्।
अर्कोतर्फ रेमिट्यान्स आप्रवाह भने उच्च छ । विदेशबाट आएको रकम बैंकिङ प्रणालीमा निक्षेपको रूपमा जम्मा भइरहेको छ । परिणामस्वरूप बैंकहरूसँग ठूलो परिमाणमा लगानीयोग्य रकम थुप्रिएको छ। तरलता धेरै हुँदा अन्तरबैंक ब्याजदर समेत निकै कम भएको छ। बैंकहरूले निक्षेपको ब्याजदर घटाइरहेका छन् भने कर्जाको माग कम हुँदा वित्तीय प्रणालीमा निष्क्रिय रकम बढिरहेको छ। यही अवस्थालाई व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले बजारबाट लगातार रकम खिच्ने नीति अपनाएको छ।


