Banijya News

कमसल ‘नोभा’ आइसक्रिम बजारबाट फिर्ता, नियन्त्रण प्रणाली बजबुत बनाएको फिस्टेल डेरीको दाबी

1
1.0K Shares

पोखरास्थित फिस्टेल डेरी प्रा.लि.ले आफ्नो उत्पादन ‘नोभा’ आइसक्रिमको एक निश्चित ब्याचमा गुणस्तरसम्बन्धी समस्या देखिएपछि उक्त उत्पादन बजारबाट फिर्ता लैजाने प्रक्रिया सुरु गरेको जनाएको छ। कम्पनीले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत यसबारे जानकारी दिँदै उपभोक्ताको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको परीक्षणमा साउन १९ गते उत्पादन गरिएको चकलेट फ्लेभरको आइसक्रिम (ब्याच नम्बर सीओ–२) मा गुणस्तरसम्बन्धी कैफियत देखिएको थियो। सोही आधारमा कम्पनीले उक्त ब्याचका सम्पूर्ण उत्पादनहरू बजारबाट फिर्ता गर्ने निर्णय लिएको हो।

कम्पनीका अनुसार यस घटनालाई गम्भीर रूपमा लिँदै सम्पूर्ण उत्पादन प्रक्रियाको विस्तृत पुनरावलोकन सुरु गरिएको छ। कच्चा पदार्थको छनोटदेखि अन्तिम प्याकेजिङसम्मका प्रत्येक चरणमा थप निगरानी र परीक्षण प्रणाली लागू गरिएको कम्पनीले जनाएको छ। यसका साथै ढुवानी र भण्डारण प्रक्रियामा महत्वपूर्ण मानिने ‘कोल्ड चेन’ व्यवस्थापनलाई थप कडाइका साथ लागू गरिएको छ।

आइसक्रिम तापक्रमप्रति अत्यन्त संवेदनशील हुने भएकाले कोल्ड चेनमा सानो त्रुटि हुँदा पनि गुणस्तरमा असर पर्ने र ब्याक्टेरियाको जोखिम बढ्ने सम्भावना हुन्छ। यही प्राविधिक पक्षलाई ध्यानमा राख्दै फिस्टेल डेरीले आफ्ना विक्रेता तथा वितरण साझेदारहरूलाई समेत भण्डारण र ढुवानीका क्रममा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

कम्पनीले प्रभावित ब्याचका उत्पादन प्रयोग नगर्न उपभोक्तालाई अनुरोध गर्दै यदि त्यस्ता उत्पादन खरिद गरिएको भए सम्बन्धित विक्रेतामार्फत फिर्ता गर्न सकिने जानकारी दिएको छ। साथै, भविष्यमा यस्ता समस्या दोहोरिन नदिन गुणस्तर नियन्त्रण संयन्त्रलाई अझ सुदृढ बनाउने प्रतिबद्धता जनाएको छ।

‘नोभा’ ब्रान्डमार्फत विगत १७ वर्षदेखि दुग्धजन्य उत्पादन बजारमा उपलब्ध गराउँदै आएको कम्पनीले उपभोक्ताको विश्वास कायम राख्न उच्च मापदण्ड अपनाउने जनाएको छ। कम्पनीका अनुसार उपभोक्ताको स्वास्थ्य र सुरक्षा नै दीर्घकालीन व्यवसायिक सफलताको आधार भएकाले यसमा कुनै सम्झौता नगर्ने नीति लिइएको छ।

यस घटनाले खाद्य सुरक्षासम्बन्धी मापदण्डको कडाइ र नियमित अनुगमनको आवश्यकता पुनः उजागर गरेको छ। सम्बन्धित निकाय र उद्योगीबीच समन्वय बढाउँदै गुणस्तरीय खाद्य सामग्री सुनिश्चित गर्नुपर्नेमा विज्ञहरूले जोड दिएका छन्।

dba05c82-ff31-47bc-afae-0f3d91eaf271

1

Scroll to Top