Banijya News

कोशीका साना–मझौला उद्यमलाई सहुलियत कर्जा, राष्ट्रिय वाणिज्य बैंकको नयाँ योजना लागू

1
1.0K Shares

काठमाडौँ । साना तथा मझौला उद्यम (एसएमई) प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय वाणिज्य बैंकले नयाँ कर्जा योजना कार्यान्वयनमा ल्याएको छ। बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच भएको सम्झौताअनुसार ‘सुरक्षण योगदानमा आधारित कर्जाको पोर्टफोलियो सुरक्षण योजना २०८२’ औपचारिक रूपमा लागू गरिएको हो।

यस योजनाअन्तर्गत विशेषगरी कोशी प्रदेशका साना तथा मझौला उद्यमहरूलाई लक्षित गरी कर्जा प्रवाह गरिनेछ। बैंकले कृषि, उद्योग र सेवा क्षेत्रका व्यवसायहरूमा लगानी विस्तार गर्दै स्थानीय अर्थतन्त्र सुदृढ बनाउने लक्ष्य राखेको जनाएको छ।

यो कार्यक्रम स्विट्जरल्याण्ड सरकारअन्तर्गतको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेशन (एसडीसी) र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा सञ्चालित ‘उदय परियोजना’ अन्तर्गत अघि बढाइएको हो। परियोजनाले उद्यमशीलता विकास, रोजगारी सिर्जना र आर्थिक समावेशीकरणलाई प्राथमिकता दिएको छ।

कर्जा सुरक्षणको व्यवस्थापनका लागि कोशी प्रदेश साना तथा मझौला उद्यमी कर्जा सुरक्षण कोषमार्फत जोखिम व्यवस्थापन गरिनेछ। यो कोष कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय र निक्षेप तथा कर्जा सुरक्षण कोषको सहकार्यमा स्थापना गरिएको हो। यसले बैंकलाई कर्जा लगानीमा जोखिम न्यूनीकरण गर्न सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

योजनाअनुसार योग्य उद्यमीहरूले ३० लाख रुपैयाँदेखि ३ करोड रुपैयाँसम्म कर्जा प्राप्त गर्न सक्नेछन्। बैंकले प्रचलित नियमअनुसार न्यूनतम ब्याजदर र कम प्रशोधन शुल्कमा कर्जा उपलब्ध गराउने जनाएको छ। यसले विशेषगरी नयाँ तथा विस्तारका चरणमा रहेका उद्यमहरूलाई सहज वित्तीय पहुँच प्रदान गर्ने अपेक्षा गरिएको छ।

बैंकका अनुसार यो योजनाले कोशी प्रदेशमा औद्योगिक तथा व्यावसायिक गतिविधि विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउनेछ। साना तथा मझौला उद्यमहरूलाई आर्थिक रूपमा सक्षम बनाउँदै उत्पादन वृद्धि, रोजगारी सिर्जना र स्थानीय स्रोतको सदुपयोगमा मद्दत पुग्ने विश्वास गरिएको छ।

1

Scroll to Top