Banijya News

टिकटमा भ्याट लगाउँदा विदेशी वायुसेवालाई मात्रै फाइदा !

1
1.0K Shares

हवाई टिकटमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) का कारण विदेशी वायुसेवालाई मात्रै फाइदा पुगेको भन्दै त्यसलाई हटाउन वायुसेवा सञ्चालक संघले माग गरेको छ ।
संघले आगामी आर्थिक वर्ष २०८३/८४ को आर्थिक ऐनमार्फत विगत दुई वर्षदेखि हवाई टिकटमा लाग्दै आएको भ्याट हटाउन माग गरेको हो । संघले आगामी आवको बजेटका लागि दिएको सुझावमा हवाई टिकटमा भ्याट लगाउँदा स्वदेशी वायुसेवा कम्पनीहरूको टिकटभन्दा विदेशी वायुसेवा कम्पनीहरूको टिकट सस्तो भएको दाबी गरिएको छ । यसले नेपाल आउने पर्यटकहरूले आफ्नो गन्तव्य परिवर्तन गर्ने हुँदा उक्त भ्याट हटाउनुपर्ने सुझाव वायुसेवा सञ्चालक संघको छ ।
अन्तर्राष्ट्रिय हवाई यातायात संघ (आयाटा) ले समेत यात्रुहरूका लागि भ्याट छुट हुनुपर्ने दिशानिर्देश गरेको वायुसेवा सञ्चालक संघले सरकारलाई दिएको आगामी वर्षको बजेट सुझावमा उल्लेख छ ।
युरोपेली युनियन (ईयू) अन्तर्गत अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ) को संकल्पमा समेत भ्याट छुटको स्पष्ट व्यवस्था भएको दाबी गर्दै वायुसेवा सञ्चालक संघले टिकटमा भ्याट हटाउनुपर्ने तर्क पेस गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ देखि हवाई टिकटमा भ्याट लगाउन थालेको हो । तत्कालीन अर्थमन्त्री प्रकाशशरण महतले २०८० जेठमा ल्याएको बजेटमा लागेको भ्याट एक महिनाभित्रै कार्यान्वयन हुनुपर्ने थियो । तर, व्यवसायीले विरोध गरेका कारण असोज ९ गतेबाट मात्रै यो कार्यान्वयनमा आएको थियो । व्यवसायीले ढिलो गरेको भए तापनि सरकारले चार महिना अगाडिदेखि नै हवाई टिकटमा लाग्ने भ्याट असुल गरेको थियो ।
टिकटमा लगाइएको भ्याटले नेपाल आउने विदेशी यात्रुले गन्तव्य परिवर्तन गरेको, महँगो हवाई टिकटको विकल्प खोज्ने गरेको र नेपाल आउन पुग्ने बजेट अरू नै गन्तव्यमा खर्च गर्न थालेको भन्दै सरकारसँग टिकटमा लागेको भ्याट हटाउन व्यवसायीले माग गरेका हुन् ।
वायुसेवा सञ्चालक संघले वायुयानका सम्पूर्ण पार्टपुर्जाको आयातमा एक प्रतिशत मात्रै भन्सार लगाउन माग गरेको छ । हाल सार्क मुलुकबाट आउनेमा ६ प्रतिशत र अन्य मुलुकबाट आउनेका लागि १० प्रतिशतसम्म भन्सार महसुल लाग्छ । यसमा भ्याट जोड्दा २४ दशमलव ३० प्रतिशतसम्म कर वायुसेवाले तिर्नुपर्छ ।
तर, सम्बन्धित वायुसेवाले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिस लिएर भने १ प्रतिशत मात्रै भन्सार महसुल तिरे पुग्ने व्यवस्था आर्थिक ऐनले गरेको छ ।
वायुसेवा कम्पनीका अनुसार सरकारले एक प्रतिशत भन्सार छुट दिन सक्ने सूचीमा नराखेका तर वायुसेवाले प्रयोग गर्ने अन्य शीर्षकका हवाईजहाज र हेलिकप्टरकै पार्टपुर्जा भएकोले यसमा पनि छुटको माग गरिएको छ ।
वायुयानका सम्पूर्ण पार्टपुर्जा भनेर व्याख्या भन्सार कार्यालयले नै गरेको भए तापनि महालेखा परीक्षकको कार्यालयले भन्सार छुटमा बेरुजु देखाउने गरेको छ । यो समस्या समाधान गर्न सबै पार्टपुर्जालाई छुटको व्यवस्थामा समेट्ने गरी भन्सार प्रणालीमा उल्लेख गर्न सुझाव दिइएको छ ।

1

Scroll to Top