चालु आर्थिक वर्ष २०८२÷८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा ठूलो असन्तुलन देखिएको छ। भन्सार विभाग को पछिल्लो तथ्यांकअनुसार नेपालले १२३ मुलुकसँग व्यापार घाटा व्यहोर्दा केवल ३४ मुलुकसँग मात्र नाफा आर्जन गर्न सकेको छ। समग्रमा व्यापार घाटा १४ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ, जसले देशको बाह्य क्षेत्रमाथि गम्भीर दबाब सिर्जना गरेको देखिन्छ।
तथ्यांकअनुसार नेपालले सबैभन्दा ठूलो व्यापार घाटा छिमेकी भारत सँग व्यहोरेको छ। भारतबाट ९ खर्ब ७४ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदा नेपालले त्यहाँ केवल २ खर्ब ४ अर्ब रुपैयाँ बराबरको निर्यात गर्न सकेको छ। यसरी भारतसँग मात्र ७ खर्ब ६९ अर्बभन्दा बढीको व्यापार घाटा भएको छ, जुन कुल घाटाको ठूलो हिस्सा हो।
त्यस्तै, दोस्रो ठूलो घाटा चीन सँग देखिएको छ। चीनबाट ३ खर्ब ३६ अर्ब रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदा नेपालले करिब १ अर्ब ३९ करोड रुपैयाँ मात्रै निर्यात गरेको छ। यसले ३ खर्ब ३५ अर्बभन्दा बढीको घाटा निम्त्याएको छ।
अन्य मुलुकसँगको व्यापार पनि नेपालका लागि सन्तुलित देखिँदैन। अर्जेन्टिना सँग करिब ९५ अर्ब रुपैयाँ घाटा भएको छ भने संयुक्त अरब इमिरेट्स सँग करिब ४८ अर्ब रुपैयाँ घाटा रहेको छ। इन्डोनेशिया, थाइल्याण्ड र ब्राजिल सँग पनि क्रमशः अर्बौँ रुपैयाँ बराबरको घाटा देखिएको छ।
यता, व्यापार नाफा भएका देशहरूको संख्या सीमित मात्र छ र नाफाको आकार पनि न्यून छ। डेनमार्क सँग नेपालले करिब ६५ करोड रुपैयाँ नाफा गरेको छ। नर्वे सँग करिब ५ करोड ९० लाख रुपैयाँ र रोमानिया सँग करिब ४ करोड रुपैयाँ नाफा भएको देखिन्छ। अन्य देशहरूसँगको नाफा भने लाखौँ रुपैयाँको सीमामा मात्र सीमित छ।
विशेषगरी, नेपालको व्यापार संरचना असन्तुलित रहेको तथ्यांकले देखाउँछ। २७ देशसँग नेपालले आयात मात्रै गरेको छ भने निर्यात शून्य छ। यस्ता देशमध्ये माल्दोभा बाट सबैभन्दा बढी आयात भएको छ, जहाँबाट १ अर्ब २९ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात हुँदा कुनै पनि निर्यात भएको छैन। सुडान, रवाण्डा, मेडागास्कर, बेलारुसलगायत देशहरू पनि यस सूचीमा छन्।
त्यसैगरी, केही देशहरूसँग निर्यात मात्र भएको छ र आयात नभएको कारण नाफा देखिएको छ। यस्ता देशहरूमा फिजी, बहमास, पानामा, अङ्गोला र सोमालिया लगायत रहेका छन्।
निर्याततर्फ हेर्दा, नेपालबाट सबैभन्दा बढी निर्यात हुने वस्तु सोयाबिन तेल रहेको छ। १० महिनामा मात्र १ खर्ब १ अर्ब रुपैयाँभन्दा बढीको सोयाबिन तेल निर्यात भएको छ। तर यो तेल तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधन गरेर पुनः निर्यात गरिएको हुने भएकाले यसको वास्तविक मूल्य अभिवृद्धि सीमित हुने विश्लेषण गरिएको छ।
यसैगरी, अलैँची, कार्पेट र कच्चा सूर्यमुखी तेल पनि प्रमुख निर्यात वस्तुका रूपमा रहेका छन्। अलैँची करिब ११ अर्ब रुपैयाँ, कार्पेट ८ अर्बभन्दा बढी र सूर्यमुखी तेल ७ अर्बभन्दा बढीको निर्यात भएको छ।
आयाततर्फ भने पेट्रोलियम पदार्थको हिस्सा अत्यधिक छ। डिजेल मात्र १ खर्ब ३० अर्ब रुपैयाँभन्दा बढीको आयात भएको छ भने पेट्रोल, खाना पकाउने ग्यास र स्मार्टफोन पनि प्रमुख आयातित वस्तुमा पर्छन्।
समग्रमा नेपालको निर्यात २ खर्ब ४८ अर्ब रुपैयाँमा सीमित रहँदा आयात अत्यधिक उच्च रहनुले व्यापार घाटा चुलिएको हो। विज्ञहरूका अनुसार उत्पादन वृद्धि, निर्यात विविधीकरण र आयात प्रतिस्थापन बिना यस्तो घाटा दीर्घकालीन रूपमा जोखिमपूर्ण बन्न सक्छ।


