Banijya News

भारतमा भ्रमणमै रविलाई भेटे अमेरिकाका विशेष दूतले

1
1.0K Shares

भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका लागि अमेरिकी राजदूत तथा दक्षिण एसियाका लागि अमेरिकाका विशेष दूत सर्जियो गोरबीच महत्वपूर्ण भेटवार्ता भएको छ। दुवै पक्षबीच भएको उक्त भेटलाई नेपाली राजनीतिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ।

भेटका क्रममा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, आर्थिक विकास, लोकतान्त्रिक मूल्यको प्रवद्र्धन तथा पारस्परिक हितका विविध विषयमा विस्तृत छलफल भएको जनाइएको छ। दुवै पक्षले नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने र साझा प्राथमिकताका क्षेत्रमा सहकार्यलाई विस्तार गर्ने विषयमा सकारात्मक धारणा व्यक्त गरेका छन्।

राजदूत सर्जियो गोरले नेपालसँग अमेरिकाको लामो समयदेखिको मित्रवत् सम्बन्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि विकास, समृद्धि र अवसर सिर्जनाका क्षेत्रमा सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले नेपाललाई दक्षिण एसियामा लोकतान्त्रिक अभ्यास र विकासका दृष्टिले महत्वपूर्ण साझेदारका रूपमा अमेरिकाले हेर्ने गरेको समेत बताएका छन्।

रास्वपा सभापति लामिछानेले नेपालमा लोकतान्त्रिक संस्थाको सुदृढीकरण, सुशासन, आर्थिक सुधार र युवामैत्री विकासका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याएको स्रोतले जनाएको छ। उनले नेपालमा लगानी, प्रविधि हस्तान्तरण तथा रोजगारी सिर्जनामा अन्तर्राष्ट्रिय सहयोगको महत्वबारे पनि धारणा राखेका थिए।

राजनीतिक विश्लेषकहरूका अनुसार भारत भ्रमणका क्रममा रहेका कुनै पनि नेपाली राजनीतिक दलका शीर्ष नेतासँग भारतस्थित अमेरिकी राजदूतले औपचारिक भेटवार्ता गरेको घटना निकै दुर्लभ मानिन्छ। त्यसैले यो भेटलाई सामान्य कूटनीतिक शिष्टाचारभन्दा फरक रूपमा पनि हेरिएको छ। विशेषगरी पछिल्लो समय नेपाली राजनीतिमा उदाएको नयाँ शक्ति रास्वपा तथा त्यसका सभापति लामिछानेप्रति अन्तर्राष्ट्रिय समुदायको चासो बढिरहेको संकेतका रूपमा समेत यसलाई विश्लेषण गरिएको छ।

राजदूत गोर यसअघि पनि नेपाल भ्रमणमा आएका थिए। नेपाल भ्रमणका क्रममा उनले विभिन्न सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरूसँग भेटघाट गरेका थिए। उनले सगरमाथा आधार शिविर क्षेत्रमा ड्रोन प्रविधिको परीक्षण समेत गरेका थिए, जसले नेपालमा प्रविधि र नवप्रवर्तनका क्षेत्रमा अमेरिकी रुचिलाई झल्काएको थियो। त्यही भ्रमणका क्रममा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग भेटघाट गर्ने प्रयास भए पनि समय अभावका कारण सम्भव हुन सकेको थिएन।

हालको भेटले नेपाल–अमेरिका सम्बन्धलाई थप गतिशील बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। आर्थिक विकास, शिक्षा, सूचना प्रविधि, वातावरण संरक्षण तथा लोकतान्त्रिक संस्थाको सुदृढीकरण जस्ता क्षेत्रमा दुवै देशबीच सहकार्यका सम्भावना अझ विस्तार हुन सक्ने विश्वास व्यक्त गरिएको छ।

यसैबीच, रास्वपाले सभापति लामिछानेको भारत भ्रमणलाई पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने अवसरका रूपमा लिएको जनाएको छ। भ्रमणका क्रममा उनले विभिन्न कूटनीतिक तथा राजनीतिक व्यक्तित्वहरूसँग भेटघाट गरिरहेका छन्।

नेपाल र अमेरिकाबीच दशकौँदेखि कायम रहेको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने दिशामा दुवै पक्ष सकारात्मक देखिएको बताइएको छ। भारतमा सम्पन्न यो भेटवार्ताले आगामी दिनमा नेपाल–अमेरिका सम्बन्धका नयाँ आयामहरू खुल्ने अपेक्षा गरिएको छ।

1

Scroll to Top