Banijya News

इजरायल जाने भाषा परीक्षा अनिश्चित समयका लागि रोकियो

1
1.0K Shares

इजरायल जानका लागि लिइँदै आएको भाषा परीक्षा अनिश्चितकालका लागि स्थगित भएको छ । परीक्षा व्यवस्थापन राम्रो नभएको भन्दै परीक्षार्थीहरुले विरोध जारी राखेपछि अंग्रेजी भाषा परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो ।

परीक्षा व्यवस्थापन कमजोर भएको र परीक्षा शुल्क पनि बढी भएको भन्दै परीक्षा दिन गएका र परीक्षा दिएका विद्यार्थीहरुले मंगलबार विरोध कार्यक्रम गरेका थिए । यस क्रममा झडपसमेत भएको थियो । परीक्षार्थीले विभिन्न माग राख्दै विरोध कार्यक्रम गरेपछि इन्टरनेसनल क्वालिफिकेसन प्रालि (सिआईआईएन) ले सूचना जारी गर्दै भाषा परीक्षा अर्को सूचना नआएसम्म स्थगन गरेको हो ।

सीआईआईएनले ‘अप्रत्यासित परिस्थिति’का कारण भाषा परीक्षा अनिश्चतकालका लागि स्थगित गरिएको जानकारी फेसबकुमार्फत् दिएको हो । आज बिहान पनि अर्को एक सूचना फेसबुकमा पोष्ट गर्दै आज १० जुनमा सञ्चालन हुने परीक्षा पनि स्थगित गरिएको जानकारी दिएको छ ।

सूचनामा लेखिएको छ, ‘मिति २०२६ जुन ९ गते सन्चालन भइरहेको परीक्षाको क्रममा केही अराजक व्यक्तिहरु जबरजस्ती परीक्षा हलभित्र प्रवेश गरी कर्मचारी तथा परीक्षार्थीहरुमाथि भौतिक आक्रमण गरी परीक्षा अवरुद्ध तथा बिथोलेको कारणले सो दिनको साथै मिति २०२६ जुन १० गते सञ्चालन हुने परीक्षा पनि स्थगित गर्नुपरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।’ उसले जारी गरेको सूचनामा परीक्षाको नयाँ मिति तथा समयसम्बन्धी जानकारी अर्को सूचनामार्फत् दिइने उल्लेख छ ।

इजरायल रोजगार अन्तर्गत अंग्रेजी भाषा परीक्षणको जिम्मा त्रिपुरेश्वरस्थित सीआईआईएन इन्टरनेसनल क्वालिफिकेसन्सले पाएको छ ।
परीक्षार्थीहरुले ५ हजार शुल्क तिर्दा पनि आवश्यक कम्प्युटर, हेडसेट तथा अन्य उपकरण संस्थाले उपलब्ध नगराएको, भिडभाड र हल्लाका कारण स्पिकिङ परीक्षा प्रभावित भएको, सर्भर सुस्त हुँदा अनलाइन सिस्टममा सबमिट नभएको लगायतका गुनासा गर्दै आएका थिए ।

विगतमा इजरायलले माग गरेको आवेदनको तुलनामा यस पटक कोटा बढी भएका कारण भाषा परीक्षाका लागि आवेदन दिनेको संख्या २० हजारसम्म पुग्न सक्ने अनुमान रहेको छ । इजरायल भाषा परीक्षा नै इजरायल रोजगारीको आवेदन दिने अन्तिम दिन असार ६ गतेसम्म हुने भएपछि रोजगारीको आवेदन म्याद असार ७ गतेभन्दा बढी थप गर्नुपर्ने अर्को समस्या देखिएको छ । भाषा परीक्षाको रिजल्ट आएपछि मात्र विभागमा असार ७ गतेसम रोजगारी दिन पाउने प्रावधान रहेको छ । तर, भाषा परीक्षा नै असार ६ गतेसम्म सञ्चालन गर्नुपर्ने देखिएको छ ।

यसअघि भाषा परीक्षाका लागि ब्रिटिस काउन्सिलबाट टेस्ट दिने व्यवस्थालाई परिवर्तन गरी सिआईआईएनबाट क्याम्ब्रिज अफ स्किल इंग्लिस टेस्ट लिने क्रममा माग गरिने आवेदनमा समस्या देखिँदा हजारौं विद्यार्थीले सास्ती भोग्नु परेको बताउँछन् । अनलाइन आवेदनमा बारम्बार समस्या आउँदा समयमा आवेदन दिन नपाएको कतिपय विद्यार्थीको गुनासो रहेको छ ।

कतिपय विद्यार्थीले यसअघि ब्रिटिस काउन्सिलबाट सबै विषयमा ‘बी वान’ स्कोर ल्याए पनि यो परीक्षा केन्द्रबाट स्कोर कम आएको बताएका छन् । परीक्षा सञ्चालन भइरहँदा इन्टरनेटले राम्ररी काम नगरेका कारण परीक्षा बिग्रिएर आन्दोलित भएको विद्यार्थीहरुको भनाइ छ ।

त्यसो त, अनलाइन आवेदनमा समस्या आएको स्वयम् सिआईआईएनले समेत स्वीकार गरको छ । सो संस्थाका अनुसार आवेदन लिने सर्भरमा लोड परेका कारण अनलाइन प्रणालीले काम नगरेका कारण कतिपय विद्यार्थीले समयमा परीक्षा फारम भर्न पाएका छैनन् । दैनिक १ हजार देखि १५ सयको आवेदन परिरहेको उसले जनाएको छ । यसअघि अनलाइन आवेदनमा समस्या आएपछि हजारौं युवा भौतिक रुपमा नै उपस्थित भएर आवेदन दिएका थिए ।

त्यस्तै, परीक्षा लिने संस्था परिवर्तन हुँदा यसअघि ब्रिटिस काउन्सिलबाट इजरायलको लागि भाषा परीक्षा दिएका हजारौं नेपालीको लगानी समेत खेर गएको छ । ब्रिटिस काउन्सिलबाट भाषा परीक्षा दिने विद्यार्थीले ५ हजार शुल्क बुझाएका थिए । अहिले फेरि नयाँ संस्थाबाट पुनः परीक्षा दिनुपर्दा थप ५ हजार रुपैयाँ तिर्नु परेको छ । इजरायल जाने तयारीमा रहेका युवाले भने दुवै संस्थामार्फत् भाषा परीक्षा दिने व्यवस्था गरेर सहज बनाउनुपर्ने बताएका छन् ।

1

Scroll to Top