नेपालको वित्तीय क्षेत्रलाई पूर्ण डिजिटल रूपान्तरणतर्फ डोर्याउने उद्देश्यका साथ कुमारी बैंक लिमिटेडले नेपालमै पहिलो पटक ‘ईआरपी एकीकृत डिजिटल कर्जा प्ल्याटफर्म’ सार्वजनिक गरेको छ। प्रविधि साझेदार आईएमएम सफ्टवेयर प्रालिसँगको सहकार्यमा ल्याइएको यस नवीन प्रविधिमार्फत बैंकले आफ्ना व्यावसायिक ग्राहकहरूलाई बिनाधितो कर्जा उपलब्ध गराउनेछ। अब व्यवसायीहरूले कर्जाका लागि लामो कागजी प्रक्रिया झेल्नुपर्ने र बैंकका शाखाहरू धाइरहनुपर्ने झन्झट अन्त्य भएको छ। यस प्ल्याटफर्मले कर्जाको आवेदन दिनेदेखि स्वीकृति, रकम भुक्तानी र किस्ता संकलनसम्मको सम्पूर्ण चक्रलाई पूर्ण रूपमा प्रविधिमैत्री बनाएको छ।
यस प्रणालीको मुख्य विशेषता भनेकै ईआरपी (इन्टरप्राइज रिसोर्स प्लानिङ) सँगको प्रत्यक्ष आबद्धता हो, जसका माध्यमबाट बैंकले सम्बन्धित व्यवसायको बिक्री, दैनिक कारोबार र मौज्दात (स्टक) जस्ता वास्तविक तथ्याङ्कहरू (रियल टाइम डेटा) लाई प्रत्यक्ष रूपमा मूल्याङ्कन गर्न सक्छ। यही डिजिटल विवरणका आधारमा कुनै पनि परम्परागत धितोबिना नै व्यवसायको कार्यसम्पादन हेरेर तत्काल ५ लाख रुपैयाँसम्मको चालु पुँजी कर्जा प्रवाह गरिनेछ। यो कर्जालाई व्यवसायीहरूले १२ महिनासम्मको समान मासिक किस्ता (EMI) मार्फत सजिलै चुक्ता गर्न सक्नेछन्। आगामी दिनमा ग्राहकको माग र नेपाल राष्ट्र बैंकको निर्देशिकाअनुसार यो कर्जाको सीमालाई थप बढाउँदै लैजाने बैंकको योजना छ।
नेपाल राष्ट्र बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने र वित्तीय पहुँच बढाउने मार्गचित्र अनुरूप ल्याइएको यो कदमले विशेष गरी देशका ९ लाखभन्दा बढी साना तथा मझौला उद्यमहरूलाई ठुलो राहत पुर्याउने विश्वास गरिएको छ। साना व्यवसायीहरूको वित्तीय अभावलाई तत्कालै सम्बोधन गरी उद्यमशीलता प्रवर्द्धन गर्न यो प्रणाली कोसेढुङ्गा सावित हुने देखिन्छ।
देशभर २८६ शाखा र ४१ वटा एक्स्टेन्सन काउन्टरमार्फत आधुनिक सेवा दिइरहेको कुमारी बैंकले यो नवीनतम सहकार्यमार्फत नेपाली डिजिटल बैंकिङ क्षेत्रमा फेरि एकपटक आफ्नो अग्रगामी पहिचान स्थापित गरेको छ।


