Banijya News

१८ वर्षे प्रेमको क्रूर अन्त्य : आखिर कुन रहस्यले कुमारलाई ‘ज्यानमारा’ बनायो ?

1
1.0K Shares

१८ वर्षअघि प्रेमविवाह गरेका सैनिक सुबेदार ईश्वरी भुजेल र पूर्वसैनिक एवं कुस्तीबाज कुमार थापा (‘नेपाली ब्रो’) को वैवाहिक सम्बन्ध पछिल्लो समय गम्भीर मोडमा पुगेको थियो। दुई छोराका साथ काठमाडौँको पैयुँटारमा बस्दै आएकी ४२ वर्षीया ईश्वरीले पतिसँग अलग हुन काठमाडौँ जिल्ला अदालतमा डिभोर्स र वैवाहिक बलात्कारको मुद्दा दायर गरेकी थिइन्। उनी कानुनी प्रक्रियामार्फत यी मुद्दाहरूको छिटो किनारा लागोस् भन्ने चाहन्थिन्। यसअघि वैवाहिक बलात्कारकै मुद्दामा कुमार २०८२ साउनमा २१ दिन हिरासतमा बसेर छुटेका थिए, जसका कारण उनीहरूबीचको सम्बन्ध झनै कटुतापूर्ण बनेको थियो।

घरेलु हिंसा र विवादका कारण उनीहरू पटक-पटक प्रहरी वृत्त बालाजुसम्म पुगेका थिए, जहाँ छलफल र मिलापत्र समेत गराइएको थियो। विवाद सुल्झिनुको साटो बढ्दै गएपछि २०८३ जेठ २० गते अदालतका न्यायाधीश डा. दिवाकर भट्टको इजलासले दुवै मुद्दालाई मेलमिलाप केन्द्रमा पठाउने आदेश दियो। तर, मेलमिलाप केन्द्रमा औपचारिक छलफल सुरु हुनै पाएन। जेठ २२ गते राति करिब १०:१० बजे कार्यालयबाट स्कुटरमा घर फर्किँदै गरेकी ईश्वरीलाई कुमारले बाटो ढुकेर आक्रमण गरे र इँटा, ढुङ्गा तथा चक्कु प्रहार गरी उनको हत्या गरे। पोस्टमार्टम रिपोर्टअनुसार उनको घाँटी र टाउकोमा गम्भीर चोट लागेको थियो।

प्रहरीको प्रारम्भिक अनुसन्धानले यो घटना घरायसी कलहकै परिणाम भएको देखाएको छ। घटनास्थलमा कुमार एक्लै देखिए पनि मृतकका परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले हत्यामा मतियारको भूमिका खेलेको आरोपमा थप तीन जना—विक्रम थापामगर, पुजन थापा क्षेत्री र प्रतीक्षा आचार्यलाई पक्राउ गरेको छ। पक्राउ परेकी २५ वर्षीया प्रतीक्षा पछिल्लो समय कुमारसँग प्रेम सम्बन्धमा रहेको र उनले नै कुमारलाई हत्याका लागि उक्साएको प्रहरीको आशङ्का छ।

घटनापछि अभियुक्त कुमार थापा मानसिक रूपमा विक्षिप्त भएका कारण प्रहरीले अहिलेसम्म उनको बयान लिन सकेको छैन। प्रहरीले हत्यामा प्रयोग गरिएको चक्कु बरामद गरिसकेको छ र पक्राउ परेका अन्य सहयोगीहरूको भूमिकाबारे थप अनुसन्धान गरिरहेको छ। अदालतले दम्पतीको सम्बन्ध सुधारका लागि मेलमिलापको प्रयास गरे पनि ईश्वरीको दुखद मृत्युसँगै त्यो कानुनी प्रक्रिया अब सधैँका लागि अन्त्य भएको छ।

1

Scroll to Top