Banijya News

मुस्ताङ भित्रिए एक लाख १२ हजार ४८ जना पर्यटक

1
1.0K Shares

चालु आर्थिक वर्षको पहिलो चौमासिकमा एक लाख १२ हजार ४८ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार साउनदेखि कात्तिक मसान्तसम्म भित्रिने कुल पर्यटकमध्ये ५७ हजार ८३१ नेपाली र ५४ हजार २१७ विदेशी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार उक्त अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै भित्रिएका नेपाली पर्यटकमध्ये ४३ हजार ५८४ पुरुष र १४ हजार २४७ महिला छन् । यस्तै, विदेशी पर्यटकमध्ये ३७ हजार ४१७ पुरुष, १६ हजार ७९३ महिला र सात जना अन्य रहेका छन् । पहिलो चौमासिकको तथ्याङ्कअनुसार विदेशीको तुलनामा नेपाली पर्यटकको सङ्ख्या तीन हजार ६१४ अर्थात् ६ दशमलव २४ प्रतिशतले बढी रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।

घाँसा प्रहरी चौकीको अभिलेखअनुसार साउनमा ३० हजार ५३४, भदौमा २० हजार २६८, असोजमा १९ हजार ५३९ र कात्तिकमा ४१ हजार ७०७ स्वदेशी तथा विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । दशैँ, तिहार र छठ पर्वको लामो बिदाका कारण कात्तिक महिनामा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको हो । यसअघि असोजमा भारी वर्षाका कारण बेनी–जोमसोम सडक दुई साताभन्दा बढी समय अवरुद्ध हुँदा पर्यटक आगमनमा कमी आएको प्रहरी निरीक्षक बस्यालले बताए ।

यसैगरी, पहिलो चौमासिकको अवधिमा बेनी–जोमसोम सडकमार्ग हुँदै ६९ हजार ७४६ सवारीसाधन मुस्ताङ भित्रिएका छन् । प्रहरीको तथ्याङ्कअनुसार साउनमा ४१ हजार ७४७, भदौमा सात हजार ९८२, असोजमा चार हजार ९७३ र कात्तिकमा १५ हजार ४४ सवारीसाधन मुस्ताङ प्रवेश गरेका थिए ।

यसअघि आर्थिक वर्ष २०८२/८३ मा बेनी–जोमसोम सडकमार्ग हुँदै सात लाख ७७ हजार ७३७ स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए ।

1

Scroll to Top