Banijya News

सुनकोशी-मरिन ठेक्कामा सांसदहरूको प्रश्नैप्रश्न, सात दिनभित्र कागजात बुझाउन निर्देशन

1
1.0K Shares

 

सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको विषयले प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा प्रवेश पाएसँगै सांसदहरूले छानबिन र कानुनी स्पष्टताको माग गरेका छन्। ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयमा जिम्मेवार पक्षको पहिचान, निर्णयको आधार तथा राज्यलाई पुगेको सम्भावित आर्थिक क्षतिको विवरण सार्वजनिक गर्न सांसदहरूले माग गरेका हुन्।

मंगलबार बसेको समितिको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुस्बु ओलीले ठेक्का रद्दसम्बन्धी निर्णयमाथि प्रश्न उठाउँदै विस्तृत अनुसन्धान गर्नुपर्ने धारणा राखे।

बैठकमा बोल्दै सांसद मनिष झाले संक्रमणकालीन सरकारको समयमा तथा जेन-जी आन्दोलनपछि निर्वाचन हुनुअघिको अवधिमा २०८२ कात्तिक २५ गते ठेक्का रद्द गरिनुको कारण र त्यसमा संलग्न जिम्मेवार व्यक्तिहरूबारे अध्ययन हुनुपर्ने बताए। उनले उक्त निर्णय कसको निर्देशनमा र कुन आधारमा गरिएको हो भन्ने विषय स्पष्ट हुनुपर्नेमा जोड दिए। ठेक्का रद्द गर्ने प्रक्रियामा को-को जिम्मेवार थिए भन्ने विषय सार्वजनिक लेखा समितिले गम्भीरतापूर्वक अध्ययन गर्नुपर्ने उनको भनाइ थियो।

त्यस्तै, सांसद खुस्बु ओलीले आफूले उठाएका प्रश्नको स्पष्ट जवाफ नआएको बताउँदै ठेक्का रद्द गर्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट कुनै निर्णय वा राय लिइएको थियो कि थिएन भन्ने पुष्टि गर्न माग गरिन्। उनले आयोजना प्रमुख वा सिँचाइ विभागका महानिर्देशकमाथि प्रधानमन्त्री कार्यालयबाट कुनै निर्देशन, निर्णय वा हस्तक्षेप भएको थियो कि थिएन भन्ने विषयमा तथ्यगत जानकारी आवश्यक रहेको बताइन्। राष्ट्रिय गौरवको आयोजनाको अनुगमन प्रधानमन्त्री कार्यालयको क्षेत्राधिकारभित्र पर्ने भए पनि ठेक्का रद्द गर्दा अपनाइएको कानुनी प्रक्रियाबारे सत्यतथ्य सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो। यस विषयमा सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समेत विभिन्न विवरण सार्वजनिक भइरहेकाले समितिले स्पष्टता ल्याउनुपर्ने उनले बताइन्।

‘परीक्षा दिएपछि प्रश्नपत्र परिवर्तन गर्न मिल्छ ?’

छलफलका क्रममा सांसद ओलीले सांसद गणेशसिंह ठगुन्नाले उठाएको भूतप्रभावी कानुनको प्रसंगलाई समर्थन गर्दै परीक्षा दिएर उत्तरपुस्तिका बुझाइसकेपछि प्रश्नपत्र परिवर्तन गर्न नमिल्ने उदाहरण प्रस्तुत गरिन्। उनले बिडिङ प्रक्रिया पूरा भइसकेको र निर्माण कार्य अघि बढेर सुरुङको ब्रेक थ्रु (आरपार छेड्ने काम) समेत सम्पन्न भइसकेको आयोजनामा पछि विधि तथा पद्धति परिवर्तन गरेर कसरी लागू गरियो भन्ने प्रश्न उठाइन्।

“बिडिङ भएर निर्माण सुरु भई टनेल ‘ब्रेक थ्रु’ भइसकेको परियोजनामा पछि विधि र पद्धति परिवर्तन गरी कसरी लागू गरियो ?” उनले प्रश्न गरिन्। उनको भनाइमा ठेक्का प्रक्रिया सुरु भएपछि वा कार्यान्वयनको चरणमा पुगेपछि नियम परिवर्तन गरी त्यसलाई पछाडि फर्केर लागू गर्न मिल्ने वा नमिल्ने विषयमा कानुनी स्पष्टता आवश्यक छ।

किसानले बेहोरेको क्षतिको पनि हिसाब हुनुपर्ने

सांसद झाले ठेक्का रद्द गर्दा भएको सम्भावित आर्थिक नोक्सानीको मात्रै नभई आयोजना रोकिँदा त्यसबाट प्रभावित हुने किसानले बेहोर्नुपरेको क्षतिको समेत मूल्यांकन गर्नुपर्ने बताए। उनका अनुसार सुनकोशी–मरिन डाइभर्सन आयोजना सम्पन्न भएको भए मधेस प्रदेशका पाँच जिल्लाका किसानले सिँचाइ सुविधा पाउने अपेक्षा थियो। करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य रहेको आयोजनामा ढिलाइ हुँदा कृषि उत्पादनमा पर्ने प्रभावसमेत अध्ययन गर्नुपर्ने उनले बताए।

आयोजनाबाट सिँचाइ सुविधा पुगेको भए कति जमिनमा खेती विस्तार हुन्थ्यो, कति उत्पादन वृद्धि हुन्थ्यो र किसानले कति आर्थिक लाभ लिन सक्थे भन्ने विषयको समेत लेखाजोखा गर्नुपर्ने झाको माग छ। उनले सार्वजनिक लेखा समितिले आयोजनाको ठेक्का प्रक्रियामा भएको सम्भावित नोक्सानीसँगै सिँचाइ सुविधा नपाउँदा किसानले बेहोर्नुपरेको अवसर लागतसमेत अध्ययन गर्नुपर्नेमा जोड दिए। साथै, सात दिनभित्र आवश्यक दस्तावेज उपलब्ध गराउने प्रस्तावमा उनले सैद्धान्तिक सहमति जनाए।

सिँचाइ विभागका महानिर्देशकले हस्तक्षेप अस्वीकार गरे

समितिको छलफलका क्रममा सिँचाइ विभागका महानिर्देशकले भने उक्त प्रक्रियामा आफूले कुनै प्रकारको नियन्त्रण वा हस्तक्षेप अनुभूति नगरेको बताएका छन्। ठेक्का रद्द गर्ने निर्णयमा मन्त्रालय वा अन्य निकायबाट कुनै हस्तक्षेप भएको थियो कि थिएन भन्ने विषयमा सांसदहरूले प्रश्न उठाइरहेका बेला महानिर्देशकको यस्तो धारणा आएको हो। यद्यपि ठेक्का रद्दसम्बन्धी सम्पूर्ण निर्णय प्रक्रिया र त्यसको आधारबारे थप कागजात अध्ययन गर्नुपर्ने देखिएको छ।

सात दिनभित्र सम्पूर्ण कागजात बुझाउन निर्देशन

यसैबीच, सार्वजनिक लेखा समितिले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द प्रक्रियासँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति भरत खड्काले मंगलबारको बैठकमा सरकारलाई यस्तो निर्देशन दिएका हुन्। उनका अनुसार आवश्यक कागजात प्राप्त भएपछि समितिले थप अनुसन्धान तथा अध्ययन गरी विषयमा विस्तृत छलफल गर्नेछ। आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको भन्दै उजुरी परेपछि समितिले यस विषयमा छलफल अघि बढाएको हो।

उजुरीकर्ताले ठेक्का प्रक्रियाका सबै चरण पूरा भइसकेको अवस्थामा अन्तिम समयमा प्रक्रियागत त्रुटि देखाउँदै ठेक्का रद्द गरिएको दाबी गरेका छन्। उनीहरूले ठेक्का रद्द गरेर पुनः प्रक्रिया अघि बढाउँदा राज्यलाई आर्थिक नोक्सानी हुन सक्ने जिकिरसमेत गरेका छन्। समितिले सरकारसँग माग गरेका कागजातमा ठेक्का आह्वानदेखि मूल्यांकन, निर्णय र रद्द गर्दासम्मका सम्पूर्ण विवरण समावेश हुने अपेक्षा गरिएको छ। कागजात प्राप्त भएपछि ठेक्का रद्द गर्ने निर्णयको कानुनी आधार, प्रक्रियागत अवस्था, जिम्मेवार अधिकारीको भूमिका र राज्यलाई परेको सम्भावित आर्थिक क्षतिबारे समितिले अध्ययन गर्नेछ।

सात दिनभित्र कागजात उपलब्ध गराउन दिइएको निर्देशनपछि सुनकोशी–मरिन आयोजनाको ठेक्का रद्द प्रकरण थप अनुसन्धानको चरणमा प्रवेश गरेको छ। समितिको आगामी छलफल र कागजात अध्ययनपछि मात्रै उक्त निर्णय प्रक्रियाबारे थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ।

1

Scroll to Top