भू–उपयोग नियमावली जारी भएको तीन वर्ष बित्दा पनि देशभरका करिब ५०० स्थानीय तहले अझै जग्गा वर्गीकरणको काम सम्पन्न गरेका छैनन्। पटक–पटक समयसीमा थपिए पनि पालिकाहरूले काम नगरेपछि हाल फेरि कित्ताकाट रोकिएको छ।
यसले घरजग्गा कारोबार, अंशबण्डा र बैंक तथा वित्तीय संस्थाबाट ऋण प्रवाह प्रक्रियामा प्रत्यक्ष असर पारेको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार हालसम्म २५३ स्थानीय तहले मात्र वर्गीकरण पूरा गरेका छन्, जुन कुल पालिका संख्याको एक तिहाइ मात्र हो। विभागका सूचना अधिकारी खिमानन्द आचार्यले स्थानीय तहहरूले यो कामलाई प्राथमिकतामा नराखेकै कारण समस्या उत्पन्न भएको बताए।
सरकारले भू–उपयोग ऐन, २०७६ र भू–उपयोग नियमावली, २०७९ मार्फत देशभरका जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदीनाला, सार्वजनिक उपयोग र सांस्कृतिक महत्वलगायत १० वर्गमा छुट्याउने व्यवस्था गरेको थियो। तर २०७९ जेठ २३ मा नियमावली लागू भएयता प्रक्रिया सुस्त हुँदा सोही वर्ष मंसिरदेखि देशभर कित्ताकाट रोकिएको हो।
सरकारले नागरिकलाई राहत दिन २०८० साउनमा एक वर्षका लागि कित्ताकाट खुलाए पनि अधिकांश पालिकाले काम सम्पन्न गरेनन्। त्यसपछि मन्त्रिपरिषद्ले फेरि नियमावली संशोधन गर्दै वर्गीकरणका लागि २०८२ असार मसान्तसम्मको समयसीमा थपेको थियो। तर अझै पनि करिब ५०० पालिकाले वर्गीकरण नगरेको विभागको भनाइ छ।
आचार्यका अनुसार यो काम प्राविधिक रूपमा कठिन नभए पनि स्थानीय जनप्रतिनिधिले इच्छाशक्ति देखाउन नसक्दा समस्या बल्झिएको हो। उनका अनुसार संघीय सरकारले बजेट वितरण गर्दा जग्गा वर्गीकरणको प्रगतिलाई मूल्यांकनको आधार बनाउने हो भने बाँकी काम छोटो समयमा सक्न सकिनेछ।
यसरी पालिकाले तोकिएको समयमै वर्गीकरण नसक्दा हाल पुनः कित्ताकाट रोकिएको छ, जसका कारण नागरिकको सम्पत्ति कानुनी रूपमा प्रयोगमा ल्याउन नसक्ने अवस्था कायम भएको विभागले जनाएको छ।


