सरकारले व्यक्ति तथा संस्थाबाट उठाउनुपर्ने बक्यौता रकम तीन अर्ब २२ करोड ३३ लाख ८७ हजार रुपैयाँ पुगेको छ । अर्थ मन्त्रालयअन्तर्गत महालेखा नियन्त्रक कार्यालयको कुमारीचोक तथा केन्द्रीय तहसिल कार्यालयको विवरणअनुसार १०३ व्यक्ति तथा संस्थाबाट सो रकम असुल गर्न बाँकी छ ।
२०७९/८० आर्थिक वर्षको अन्त्यसम्म संकलित विवरणअनुसार सो मध्ये दुई अर्ब ९ लाख ८१ हजार रुपैयाँ साँवा र एक अर्ब २२ करोड २४ लाख रुपैयाँ ब्याज समावेश छ । तीमध्ये कतिपय रकम मुद्दा–मामिला अदालतमा रहेकाले तत्काल उठाउन नसकिएको कार्यालयले जनाएको छ ।
असुली गर्न बाँकी रकममध्ये सबैभन्दा पुरानो २०२२ सालको हो । त्यतिबेला घर किन्न भन्दै ऋण लिएका धनुषाका प्रेमबहादुर सिंहले हालसम्म ११ हजार ५०८ रुपैयाँ बुझाएका छैनन् । पछिल्लो समय भने काठमाडौं र चितवनका विभिन्न ठेकेदारले करोडौं सरकारी रकम दुरुपयोग गरेको विवरण सार्वजनिक भएको छ ।
कार्यालयका प्रमुख लावन्यराज दाहालका अनुसार, रकम असुलीका लागि पटक–पटक ताकेता गरिएको छ । “कतिपयको ठेगाना पत्ता लाग्दैन, कतिपय ऋणीलाई उल्लेख गरिएको ठेगानामा नै भेट्न सकिँदैन,” उनले बताए ।
सरकारी रकम बक्यौता राख्नेमा सबैभन्दा धेरै ठेकेदार र ठेकेदार कम्पनी देखिएका छन् । पप्पु कन्स्ट्रक्सन, खोम कन्स्ट्रक्सन, लामा कन्स्ट्रक्सनदेखि सिरुवा कन्स्ट्रक्सनसम्मका कम्पनीहरूले सडक, पुल र अन्य संरचना निर्माण नगरी बीचैमा काम छाडेका कारण करोडौं बेरुजु कायम भएको छ । केवल सिरुवा कन्स्ट्रक्सनसँग मात्रै दुई पुल निर्माण कार्य नगरेकाले ४ करोडभन्दा बढी रकम असुल गर्न बाँकी छ ।
कुमारीचोक तहसिल कार्यालयको विवरणअनुसार, सरकारले सबैभन्दा धेरै बक्यौता क्यासिनोबाट उठाउनुपर्ने देखिएको छ । ६ वटा क्यासिनोबाट मात्र साँवा र ब्याज गरी दुई अर्ब १७ करोड ६२ लाख रुपैयाँ भन्दा बढी असुल गर्न बाँकी छ ।
क्यासिनो रोयल्टी तिर्न बाँकी राख्नेमा दि फुलबारी ली पोखरा, नेपाल रिक्रीएसन सेन्टर, होटल याक एण्ड यती, होटल एभरेष्ट इन्टरनेशनल र अन्नपूर्ण इन्टरनेसनल प्रालि लगायत छन् । नेपाल रिक्रीएसन सेन्टर प्रालिले मात्र एक अर्ब ३ करोडभन्दा बढी तिर्न बाँकी देखाइएको छ ।
नेपाल सरकारले तीन विदेशी कम्पनीसँग समेत २६ करोड रुपैयाँभन्दा बढी उठाउन बाँकी राखेको छ । अमेरिकी कम्पनी बीबीबी च्याम्पियन्स आयल, टेक्साना रिसोर्सेस र यूएईको इमिरेट्स एसोसिएटेड बिजनेस ग्रुपले २०६९/७० देखि २०७१/७२ सम्मको भू–बहाल कर बुझाएका छैनन् ।
ती कम्पनीसँग पेट्रोलियम पदार्थ अन्वेषणसम्बन्धी सम्झौता गरिएको थियो । तर नियमानुसार बुझाउनुपर्ने भू–बहाल कर तिरेनन् ।
तेजारथ अड्डा र घरेलु तथा साना उद्योग विकास समितिबाट ऋण लिएका कतिपय पुराना ऋणीले पनि अझै रकम बुझाएका छैनन् । तीमध्ये काठमाडौं, भक्तपुर, नुवाकोटदेखि जुम्लासम्मका व्यक्तिहरू छन् ।
कार्यालयले बक्यौता असुल गर्न निरन्तर चेष्टा गरिरहे पनि मुद्दा–मामिला, ठेगाना नखुलेको अवस्था र ऋण लिने व्यक्तिको अनुपस्थितिका कारण ठूलो रकम असुल गर्न नसकिएको जनाएको छ ।


