Banijya News

२० औद्योगिक ग्राम र सेज राष्ट्रिय प्राथमिकतामा, कार्यान्वयन प्रक्रिया सहज हुने

1
1.2K Shares

सरकारले देशभरका २० औद्योगिक ग्राम, औद्योगिक क्षेत्र र विशेष आर्थिक क्षेत्र (सेज)लाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना (National Priority Project) मा सूचीकृत गर्ने निर्णय गरेको छ । भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार सरकारले राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको कोटीमा सूचीकृत गरेसँगै यस्ता पूर्वाधार निर्माण तथा कार्यान्वयनको प्रक्रिया सहज हुने भएको छ । विशेषगरी जग्गा प्राप्ति, मुआब्जा, वातावरणीय प्रभाव मूल्यांकन (EIA) र कानुनी प्रक्रियामा देखिने अवरोध हट्ने अपेक्षा गरिएको छ ।

‘जग्गा प्राप्तिका कारणले औद्योगिक ग्राम, औद्योगिक क्षेत्र र सेजका काम लामो समयदेखि रोकिएका थिए,’ प्रवक्ता बस्नेतले भने, ‘राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा भएसँगै सरकारले नाममा जग्गा ल्याउन सजिलो हुनेछ ।’

यसअघि राष्ट्रिय योजना आयोगले मात्र राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गर्ने प्रचलन थियो । तर हालको व्यवस्थाअनुसार सम्बद्ध मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले नै आयोजना निर्धारण गर्ने गरेको छ ।

भदौ ९ गतेकै बैठकले २० वटा औद्योगिक ग्राम, औद्योगिक क्षेत्र, विशेष आर्थिक क्षेत्रसँगै सुक्खा बन्दरगाह, पेट्रोलियम पाइपलाइन र निजी क्षेत्रबाट सञ्चालित केबलकार आयोजनालाई पनि राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना घोषणा गरेको छ ।

सरकारले अहिलेसम्म १०० भन्दा बढी औद्योगिक ग्राम घोषणा गरिसकेको छ । सातै प्रदेशमा औद्योगिक ग्राम तथा सेज स्थापना गर्ने योजना भए पनि हालसम्म सीमित पूर्वाधार मात्रै सञ्चालनमा आएका छन् । बाँकी आयोजना जग्गा अधिग्रहण र कानुनी अवरोधका कारण अघि बढ्न सकेका छैनन् ।

२०७६ को वन ऐन र २०८२ मा संशोधन भएर ल्याइएको कानुनी व्यवस्थाअनुसार राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका लागि आवश्यक परेमा वातावरणीय परीक्षणको आधारमा वन क्षेत्र प्रयोग गर्न समेत स्वीकृति दिने व्यवस्था मिलाइएको छ ।

1

Scroll to Top