गुल्मीमा कफी अनुसन्धान कार्यक्रमअन्तर्गत ३८ प्रकारका कफीको जातीय परीक्षण सुरु गरिएको छ। रुरुक्षेत्र गाउँपालिकामा प्राङ्गारिक प्रविधि प्रयोग गरेर यो परीक्षण भइरहेको हाे। कफी अनुसन्धान कार्यक्रम गुल्मीका प्रमुख एवं वरिष्ठ वैज्ञानिक जनार्दन गौतमका अनुसार, २०० रोपनी क्षेत्रफलमा यो कार्यक्रम सञ्चालन भइरहेको छ।
यस कार्यक्रममार्फत कफीका तीनवटा जात सिफारिसका लागि बीउबिजन तथा गुणस्तर नियन्त्रण केन्द्रमा प्रस्ताव पेस गरिएको छ।
यसका साथै, अन्य कफीका जात र रोगकिरा व्यवस्थापनसम्बन्धी परीक्षण पनि भइरहेको छ। गौतमका अनुसार, कफीको माउबोट, हाँगा, बीउ, माटो र उत्पादनको गुणस्तरसम्मको अनुसन्धान गर्नका लागि अझै दक्ष जनशक्तिको अभाव छ।
यो कार्यक्रमले वार्षिक १० हजारभन्दा बढी कफीका बिरुवा उत्पादन गर्नुका साथै १०० किलोसम्म कफीको स्रोत बीउ उत्पादन गरेर वितरण गरिरहेको छ। कार्यक्रमले कफी बालीमा मलखाद व्यवस्थापन, छहारी व्यवस्थापन, रोप्ने तरिका, सेतो गबाँरो र अन्य रोगकिरा व्यवस्थापनको साथै कफीको गुणस्तरबारे पनि अनुसन्धान गरिरहेको छ।


