Banijya News

नेपाली चिया उद्योग संकटमा, के वैकल्पिक बजार खोज्न ढिला भएको हो ?

1
1.0K Shares

नेपालबाट हुने चिया निर्यातमा भारतले पटक–पटक अवरोध गर्दै आएको छ । भारतले नयाँ प्रक्रियागत अवरोध पुर्‍याउँदा चिया निर्यात ठप्पजस्तै बनेपछि पूर्वी नेपालका चिया उद्योगहरु धमाधम बन्द हुन थालेका छन् । चिया उत्पादकहरुले असार १ गतेदेखि इलामका ५६ वटा (सबै) चिया उद्योग बन्द गरेका हुन्।

भारतीय टी बोर्डले प्रयोगशाला परीक्षणको नाममा चिया रोक्न थालेपछि तयारी चियाले गोदाम भरिएका छन् । किसानले हरियोपत्तिको भुक्तानी पाएका छैनन् । यसले गर्दा उद्योगीहरू उत्पादन नै रोक्न बाध्य भएका छन् । सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपाल, इलामले जेठ ३१ गते आइतबार प्रेस विज्ञप्ति जारी गर्दै असार १ गतेदेखि आफ्ना सदस्य उद्योगहरू बन्द गर्ने घोषणा गरेको थियो । सोहीअनुरुप असार १ गतेदेखि सबै ५६ चिया उद्योगहरु बन्द भएका छन् । त्यस्तै, झापाका उद्योगीहरूले पनि असार ४ गतेदेखि उद्योग बन्द गर्ने तयारी गरेका छन् ।

सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसनका उपाध्यक्ष ज्ञानी लिम्बूका अनुसार अहिले भारतका विभिन्न ठाउँमा पुगेका नेपालका तयारी चिया परीक्षण रिपोर्टको प्रतिक्षामा गोदाममै थन्किएका छन् । यसले गर्दा चिया बजार पुग्न नपाएपछि अब उद्योगहरू बन्द गर्नुको विकल्प नभएको उनको भनाइ छ ।

पहिला सीमामै रोक्ने गरे पनि अहिले भारतको कोलकाता पुगेपछि गोदाममा राखेर रोक्ने गरिएको छ । अहिले कोलकाताकै गोदामबाट हरेक गाडीको नमूना संकलन गरेर परीक्षण प्रतिवेदन कुर्न भनिएको छ । आठ–दस दिनपछि नमूना लिने र १५–२० दिनमा मात्रै रिपोर्ट आउँछ । धेरैको त अहिलेसम्म परीक्षण रिपोर्ट नै नआउँदा उद्योग बन्द गर्नुको विकल्प नभएको लिम्बुको भनाइ छ । एकपटक रिपोर्ट अनफिट आयो भने फेरि स्याम्पलिङ गर्न १५ हजार भारतीय रूपैयाँ तिर्नुपर्छ । त्यसको पनि रिपोर्ट २०–३० दिनसम्म आउँदैन । यसरी चिया ६० दिनसम्म अड्किन थालेको उनी बताउँछन् ।

यसअघि भारतीय चिया बोर्डले वैशाक १८ गते प्रत्येक गाडीमा रहेको चियाको नमुुना अनिवार्य प्रयोगशाला परीक्षण गर्नुपर्ने नयाँ प्रावधान ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिड्युर’ लागू गरेपछि नेपालमा उत्पादित चिया निर्यात ठप्प भएको थियो । भारतले मे १ देखि यस्तो प्रावधान लागू गरेपछि तयारी चिया बोकेका गाडीहरू भारतीय नाका पानीट्यांकीमा रोकिएका थिए । त्यस बेला तीन साता चिया निकासी ठप्प भएको थियो ।
तीन साताको निकासी अवरोधपछि भारतीय चिया बोर्डले भारतमा आन्तरिक बिक्रीका लागि आयात गरिने चियाका कन्साइनमेन्टहरूमा ‘र्‍यान्डम’ मात्र परीक्षण हुने र नेपालबाट भारतमा उपभोगका लागि जाने चियामा नियमित र हरेक ट्रकपिच्छे परीक्षण नगरी र्‍यान्डम स्याम्पलिङ मात्र हुने व्यवस्था गरेपछि अवरुद्ध निकासी पुनः सुरू भएको थियो ।

मेची भन्सारका अनुसार २१ दिनपछि निकासी खुलेपछि केही ट्रक चिया भारत निकासी भयो । तर, भारतीय चिया बोर्डले आयातकर्ताको गोदाममै पुगेर गुणस्तर परीक्षणका नाममा हरेक बोराबाट नमुना निकालेर प्रयोगशाला लैजाने र परीक्षणको रिपोर्ट नआएसम्म बिक्री नगर्न आदेश दिएपछि चिया निकासी ठप्प भएको छ ।

भारतले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा दुःख दिएर डेढ महिनादेखि निकासीमा अवरोध पुर्‍याएको छ । पछिल्लो समय विभिन्न प्राविधिक र प्रशासनिक बहानामा नेपाली चियामा गैरभन्सार अवरोध सिर्जना गरिरहेको छ । नेपालबाट भारत हुँदै तेस्रो मुलुकमा समेत चिया निर्यात हुने भएकाले यस्तो अवरोधले समग्र निर्यात प्रणालीमै असर पर्ने उद्योगीहरूको भनाइ छ ।

भारतीय चिया बोर्डले नेपाली चियाको गुणस्त परीक्षणका नाममा भारत पुगेको झण्डै दुई लाख किलो चिया बजारमा निकाल्न नदिएर आयातकर्ताको गोदाममै थन्क्याएको र निकासी अवरुद्ध हुँदा १० लाख किलोभन्दा बढी चिया उद्योगमै कुहिने अवस्था आएको छ । यस्तो अवस्थामा पनि सरकारले निकासी सहजताका लागि कुनै कुटनीतिक पहल नगरेको भन्दै उद्योगीले उद्योग नै बन्दको विकल्प रोजेका हुन् ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीका अनुसार, असार १ देखि इलामका ५६ वटै उद्योग बन्द गरिएको छ भने बुधबारदेखि झापाका ३० वटा चिया उद्योग बन्द गर्ने निर्णय भएको छ । यससँगै चिया किसान, मजदुर र उद्योगीले सरकारलाई दबाब दिन काँकडभिट्टा नाकाबाट भारतीय उत्पादन भित्रिन नदिने र नाका अवरुद्ध गर्ने लगायतका आन्दोलन गर्ने तयारी गरेको बताइएको छ ।

पराजुलीका अनुसार, इलाममा वार्षिक ६५ लाख किलो र झापामा वार्षिक २ करोड किलो चिया उत्पादन हुँदै आएको छ । त्यसमध्ये करिब ९० प्रतिशत अर्थोडक्स चिया निर्यात हुने गरेको छ भने निर्यातको ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर छ । पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । यी उद्योगमा एक लाख मजदुर र किसानका ३० हजार घर परिवार जोडिएका छन् ।

भन्सार विभागको तथ्यांकअनुसार चिया नेपालको प्रमुख निर्यात वस्तुमध्ये एक हो । हरेक वर्ष सरदर साढे चार अर्ब रुपैयाँभन्दा बढी विदेशी मुद्रा चियाबाट नै भित्रिने गर्दछ । गत आर्थिक वर्षमा मात्रै नेपालबाट भारततर्फ करिब ३ अर्ब ९८ करोड रुपैयाँ बराबरको चिया निर्यात भएको थियो । नेपालमा उत्पादन हुने सिटिसी चियाको ५० प्रतिशत बढी हिस्सा र अर्थोडक्स चियाको ९० प्रतिशत हिस्सा भारत निर्यात हुने गर्दछ ।

चालु आर्थिक वर्षको वैशाखसम्ममा ३ अर्ब ३५ करोड मूल्य बराबरको ११ हजार ४ सय टन नेपाली चिया निर्यात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक छ । वार्षिक करोडौं रुपैयाँको विदेशी मुद्रा आर्जन गर्ने यो क्षेत्रबाट हजारौं किसान, मजदुर र व्यवसायी प्रत्यक्ष रूपमा लाभान्वित भइरहेका छन् । विशेषगरी इलाम, पाँचथर, धनकुटा र झापाका ग्रामीण अर्थतन्त्रको प्रमुख आधार नै चिया उद्योग बनेको छ । तर, अहिले यही उद्योग गम्भीर संकटमा परेको छ ।

पूर्वी नेपालका इलाम, झापा, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लामा उत्पादित अर्थोडक्स चिया भारतीय बजार हुँदै अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने गरेको छ । अहिले फेरि चिया निर्यातमा गैरभन्सार अवरोध भएसँगै चिया व्यापार पुनः ठप्प भएको छ । यसको निराकरणमा सरकारको ध्यान जान जरुरी छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार नेपालबाट बर्सेनी ७० लाख किलोभन्दा बढी अर्थोडक्स तयारी चिया निर्यात हुन्छ । जसको ९० प्रतिशतभन्दा बढी भारतीय बजारमा जाने गरेको छ । वार्षिक सवा ४ अर्ब बढीको तयारी चिया निर्यात हुने नेपालमा अर्थोडक्स चिया मुख्यतः इलाम, पाँचथर र धनकुटामा उत्पादन हुन्छ ।

नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुली भारतले लागू गरेको शतप्रतिशत परीक्षण प्रणाली व्यवहारिक नभएको र यसले नेपाली चिया निर्यातलाई अप्रत्यक्ष रूपमा रोक्ने उद्देश्य राखेकोजस्तो देखिएको बताउँछन् । पराजुलीका अनुसार पहिले भारतीय भन्सार नाकामै नमुना परीक्षण हुने व्यवस्था थियो । तर, नयाँ प्रणालीअनुसार चिया भारत प्रवेश गरेपछि गोदाममा राखेर नमुना संकलन गरिन्छ र परीक्षण प्रतिवेदन आउन २५ देखि ३० दिनसम्म लाग्ने गरेको छ ।

भारतले पहिले ५४ वटा मापदण्डमा परीक्षण गर्ने गरे पनि अहिले २६० वटा मापदण्डमा परीक्षण गर्न थालेको दाबी गर्दै यसले निर्यातकर्तालाई ठूलो जोखिममा पारेको उनी बताउँछन् । नयाँ व्यवस्थाले निर्यात अनिश्चित बनेपछि उद्योगीहरू उत्पादनमै निरुत्साहित भएको र उद्योग बन्द गर्नुपर्ने अवस्थामा पुगेका हुन् ।

यो समस्या समाधानका लागि नेपाल सरकारले भारतसँग सरकार–स्तरमा कूटनीतिक पहल गर्नुपर्ने उनको भनाइ छ । उनले पहिलेझैँ सीमा नाकामै नमुना परीक्षण गरी चिया निर्यात सहज बनाउने व्यवस्था पुनः लागू गर्न आग्रह गरेका छन् । तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न नसके नेपाली चिया उद्योग गम्भीर संकटमा फस्ने र हजारौं किसान तथा मजदुरको जीविकोपार्जन प्रभावित हुने उनको भनाइ छ ।

नेपाल टि एसोशियसनका अध्यक्ष कमलराज मैनाली नयाँ प्रक्रिया व्यवहारिक नभएको र यसले नेपाली चिया निर्यातमा अनावश्यक अवरोध सिर्जना गरेको बताउँछन् । भारतमा लागू गरिएको कडाइपूर्ण परीक्षण प्रणालीले नेपाली चियालाई अप्रत्यक्ष रूपमा रोक्ने प्रयासजस्तो देखिएको उनको भनाइ छ । अहिले भारत नै चियाको प्रमुख बजार भएकाले वैकल्पिक बजारको अभावमा उद्योग जोखिममा परेको छ । त्यसैले, सरकारले चिया बजारीकरणमा सक्रिय भूमिका खेल्नुपर्ने र भारतबाहेक पाकिस्तान, मध्यपूर्व, रुस तथा अन्य तेस्रो मुलुकमा बजार विस्तार गर्नुपर्ने उनको बुझाइ छ । अर्थोडक्स चियाका लागि युरोप, अमेरिका र जापानमा सरकारी स्तरको प्रवद्र्धन आवश्यक रहेको उनी बताउँछन् ।

नेपाली चियाका लागि भारतमै निर्भर हुनुपर्दा पटक–पटक यस्ता अनेक समस्या झेल्नुपर्ने र चिया उद्योग नै संकटमा पर्ने गरेको छ । त्यसैले, दीर्घकालीन रूपमा भारतसँगको निर्भरता घटाउन कूटनीतिक पहल गर्नुका साथै व्यापार सम्झौता पुनरावलोकन तथा अन्तर्राष्ट्रिय बजार विस्तारलाई पनि प्राथमिकता दिनुपर्ने देखिन्छ ।

1

Scroll to Top