साताको पहिलो कारोबार दिन नेप्से परिसूचक सामान्य अंक घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार सामान्य अंक बढेर बन्द भएको नेप्से आज सोमबार भने घटेर बन्द भएको हो ।
आज नेप्से परिसूचक १.०३ अंक घटेर २७३०.९१ विन्दुमा बजार बन्द भएको छ । यस दिन सेन्सेटिभ इण्डेक्स ०.५० अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.०२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंक बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २ अर्ब ४५ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको कारोबार भएको देखिन्छ ।
यस दिन इङ्वा हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ८.४२ प्रतिशत बढेको छ । त्यस्तै, यस दिन बुङ्गल हाइड्रोको शेयरमूल्य करिब साढे ६ प्रतिशत बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर साढे ३ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको निफ्रा उर्जा ऋणपत्र (७ प्रतिशत २०८५–८६) को मूल्य सर्वाधिक ५.२६ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज साहस ऊर्जा शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८ करोड ४३ लाख ८९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको करिब साढे ७ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने एसवाई प्यानल नेपालको कारोबार रकम ७ करोड रुपैयाँ नाघेको छ ।
१३ उपसमूहमध्ये यस दिन पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ । यस दिन बैंकिङ, विकास बैंक, जलविद्युत्, लगानी र अन्य उपसमूहको परिसूचक सामान्य अंक बढेको छ । कारोबारमा आएका वित्त, होटल तथा पर्यटन, जीवनबीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक आज सामान्य घटेर बजार बन्द भएको छ ।


