Banijya News

ग्लोबल आईएमई बैंक प्रकरणः कर्मचारीको आत्महत्या घटनाप्रति बैंकिङ संघसंस्थाहरुको ध्यानाकर्षण

1
1.0K Shares

ग्लोबल आईएमई बैंक, विराटनगरमा कार्यरत कर्मचारी पिताम्बर खड्काको आत्महत्या घटना अहिले चासो र चर्चाको विषय बनेको छ । उनको आत्महत्या प्रकरणमा विभिन्न बैंकिङ संघसंस्थाहरुले समेत ध्यानाकर्षण गरेका छन् । सो प्रकरणमा एभरेष्ट बैंक कर्मचारी संगठन, नबिल बैंक कर्मचारी संघ, एनआईसी एशिया बैंक कर्मचारी संघ, प्रभु बैंक बित्तिय संस्था कर्मचारी युनियन, नेपाल एसबीआई बैंक कर्मचारी संघ, हिमालयन बैंक कर्मचारी संगठन र सिद्धार्थ बैंक कर्मचारी संघले ध्यानाकर्षण गरेका हुन् ।

खड्काको आत्महत्याको घटनाप्रति बैंक तथा वित्तीय क्षेत्रका सम्पूर्ण कर्मचारीहरूको गम्भीर ध्यानाकर्षण भएको संस्थाहरूले जनाएका छन् । यस घटनाले समग्र बैंकिङ क्षेत्रका श्रमजीवी कर्मचारीहरूलाई स्तब्ध, मर्माहत र चिन्तित बनाएको उनीहरूको भनाइ छ । संस्थाहरुले दिवंगत आत्माप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

बैंकिङ संघसंस्थाहरुले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘हामी यस घटनालाई केवल व्यक्तिगत दुःखद घटनाको रूपमा मात्र नभई बैंकिङ क्षेत्रमा पछिल्लो समय बढ्दै गएको अत्यधिक कार्य दबाब, अस्वस्थ कार्य संस्कृति तथा श्रम व्यवस्थापनसम्बन्धी गम्भीर समस्याहरूको संकेतका रूपमा लिएका छौँ । पछिल्ला वर्षहरूमा कार्य–जीवन सन्तुलनको अभाव तथा निरन्तरको मानसिक दबाबले कर्मचारीहरूको व्यक्तिगत, पारिवारिक तथा मानसिक स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक प्रभाव पारिरहेको देखिन्छ ।’

अझ दुःखद पक्ष के छ भने, आफ्नो जिम्मेवारी तथा प्रचलित बैंकिङ नियम, मापदण्ड र कानुन अनुसार कार्य सम्पादन गर्दा समेत कर्मचारीहरू माथि विभिन्न दबाब समूहबाट दुर्व्यवहार, धम्की, व्यक्तिगत अपमान तथा असुरक्षाका घटनामा वृद्धि भइरहेको भन्दै संस्थाहरुले आपत्ति जनाएका छन् ।

सुरक्षित र सम्मानजनक वातावरणमा काम गर्न गम्भीर अवरोध सिर्जना गरिरहेको भन्दै विज्ञप्तिमा भनिएको छ– ‘सामान्य बैंकिङ प्रक्रिया तथा कानुन बमोजिम गरिएको कार्यलाई समेत कतिपय अवस्थामा ‘गैरकानुनी’ भन्दै कर्मचारीहरूलाई अनावश्यक कानुनी झन्झट, सामाजिक आरोप तथा मानसिक तनावमा पार्ने प्रवृत्ति बढ्दो छ । यस्तो संवेदनशील अवस्थामा सम्बन्धित निकायहरूको प्रभावकारी पहल र संरक्षणको अभावले कर्मचारीहरूमा थप असुरक्षा र निराशा बढाएको अनुभूति भएको छ ।’

संस्थाहरूले नेपालको संविधान तथा प्रचलित कानुनले प्रत्येक श्रमिकलाई सुरक्षित, सम्मानजनक र मर्यादित कार्य वातावरणको अधिकार सुनिश्चित गरेकाले नेपाल सरकार, युवा, श्रम तथा रोजगार मन्त्रालय, नेपाल राष्ट्र बैंक तथा सम्बन्धित निकायहरू समक्ष बैंकिङ क्षेत्रमा श्रम मापदण्डको पूर्ण कार्यान्वयन, कार्य समय तथा अतिरिक्त कार्यको स्पष्ट व्यवस्थापन, मानसिक स्वास्थ्य संरक्षणका लागि प्रभावकारी परामर्श प्रणाली, तथा कार्यस्थलमा हुने सवै खाले दुर्व्यवहार विरुद्ध कडा संयन्त्र निर्माण गर्न जोडदार माग गरेका छन् ।

उच्च तहका कर्मचारीहरू माथि कुनै पनि किसिमका कारबाही सुरु हुँदा सक्रिय अभिव्यक्ति दिने विभिन्न समूह तथा संस्थाहरू यस घटनामा उठिरहेका सम्भावित ‘आत्महत्या दुरुत्साहन’ सम्बन्धी संस्थाहरूद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘गम्भीर प्रश्नमा मौन देखिनु चासो र चिन्ताको विषय बनेको छ । त्यसैले उक्त घटनाको निष्पक्ष छानबिन गरी यदि कसैको प्रत्यक्ष वा अप्रत्यक्ष दबाब, दुरुत्साहन, गैर जिम्मेवार व्यवहार वा संस्थागत लापरबाही प्रमाणित भएमा प्रचलित कानुन बमोजिम आवश्यक कारबाही गर्न सम्बन्धित निकाय समक्ष माग गर्दछौँ ।’
ग्लोबल आईएमई बैंकका कर्मचारी पिताम्बर खड्काले जेठ ४ गते सोमबार आत्महत्या गरेका थिए । झापा दमक नगरपालिका–८, लक्ष्मीमार्ग टोलका ४२ वर्षीय पिताम्बरले बैंकका हाकिमहरुप्रति औँला ठड्याउँदै आत्महत्या गरेका हुन् ।

ग्लोबल बैंकको विराटनगर शाखामा कार्यरत खड्काले आत्महत्या गर्नुअघि सामाजिक सञ्जाल फेसबुकमा बैंकका सीईओसहित चार उच्च अधिकारीहरुको सामूहिक तस्वीर सार्वजनिक गरेका थिए । प्रहरीका अनुसार, खड्काले दिपचन्द्र रेग्मी, अनामिका कुँवर सिंह, सुरेन्द्र रेग्मी र सुमन पोखरेलको फोटो फेसबुकमा पोस्ट गर्दै आफू उनीहरूकै कारण आत्मघाती कदम चाल्न बाध्य भएको धारणा उनले फेसबुकमा लेखेका थिए ।

1

Scroll to Top