केही समययता नेपालमा प्राकृतिक दूधको स्थानमा नक्कली दूध तयार पारेर बजारमा बिक्री भइरहेको तथ्य खुलेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरस्थित एक दुग्ध उद्योगमा अनुगमन गर्दा यस्तो रहस्य खुलेको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काठमाडौं तथा प्रहरी वृत्त जगातीको संयुक्त टोलीले सूर्यविनायक नगरपालिका ९ स्थित जोरपाटी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगको प्रशोधन कक्षमा ९.८६ किलोग्राम ‘माल्टोडेक्सट्रिन’, ‘डेक्सट्रोज मोनोहाइड्रेट’ ५६ किलो र ३० किलो ‘बेकरी सर्टेनिङ’ बरामद गरिएको छ । दूध प्रशोधनमा प्रयोग हुन सक्ने शंकास्पद पदार्थ फेला पारेपछि विभागले ठूलो परिमाणमा दूध सिलबन्दी गरेको छ ।
यस्ता पदार्थको समिश्रणबाट नक्कली दूध तयार गरी उक्त उद्योगले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) सहित बजारमा दूध बिक्री गर्दैआएको रहस्य बाहिरिएको हो ।
डीडीसीले वर्षौंदेखि उक्त उद्योगबाट परीक्षण बेगर दूध खरिद गर्दैआएको थियो । यो नक्कली दूध खरिद प्रकरणमा डीडीसीका कर्मचारीको समेत मिलेमतो रहेको हुनसक्ने आशंका गरिएको छ ।
बिभागका प्रवक्ता डा. बालकुमारी शर्माका अनुसार ब्याच पाश्चराइजर ट्यांकमा हालेर तयारी अवस्थामा राखिएको ३० किलो ‘बेकरी सर्टेनिङ’ जस्तो देखिने चिल्लो पदार्थसमेत अनुगमनको क्रममा फेला परेको थियो ।
अनुगमन टोलीले उद्योगभित्र रहेका तीन वटा चिलिङ भ्याटमा भरिएको दूधबाट तीन थान नमुना र पगाल्न तयारी अवस्थामा रहेको शंकास्पद चिल्लो पदार्थबाट एक थान नमुना संकलन गरी प्रयोगशाला परीक्षणका लागि पठाएको जनाएको छ ।
विभागले तीनवटै चिलिङ भ्याटमा रहेको दूध तथा बेकरी सर्टेनिङ जस्तो देखिने पदार्थ अर्को आदेश नभएसम्मका लागि सिलबन्दी गरेको छ । साथै थप अनुसन्धानका लागि उद्योग सञ्चालकलाई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही प्रक्रिया अघि बढाइएको विभागले जनाएको छ ।
खाद्य वैज्ञानिकहरूका अनुसार यी तीनै पदार्थ सामान्यतया खाद्य उद्योगमा कानुनी रूपमा प्रयोग हुने औद्योगिक सामग्री भए पनि दूधमा गैरकानूनी रूपमा मिसावट गर्न प्रयोग गरिएमा त्यसले दूधको प्राकृतिक गुण, पोषण संरचना र स्वास्थ्य सुरक्षामा गम्भीर असर पार्न सक्छ ।
‘माल्टोडेक्सट्रिन’ले रगतमा चिनीको उच्च जोखिम बढाउन सहयोग गर्छ, जसले यसलाई निक्कै घातक मानिन्छ । यस्तै ‘डेक्सट्रोज मोनोहाइड्रेट’ ले अत्यधिक ग्लुकोजको मात्रा आपूर्ति गर्छ, यो पनि घातक नै मानिन्छ ।
त्यसैगरी, बेकरी सर्टेनिङले ट्रान्स फ्याटमार्फत मुटुरोग र रक्तनलीसम्बन्धी गम्भीर समस्या निम्त्याउन सहयोग गर्छ । यी मध्ये बेकरी सर्टेनिङ सबैभन्दा हानिकारक पदार्थको रुपमा हेरिन्छ ।


