Banijya News

नेप्से घट्ने क्रम जारी, कारोबार रकम पनि घट्यो

1
1.0K Shares

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक २०.२७ अंक घटेर २७३५.१४ विन्दुमा झरेको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो ।

यस दिन सेन्सेटिभ इण्डेक्स २.६२ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ । १३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ । यस दिन वित्त उपसमूहको परिसूचक सामान्य बढेको हो । कारोबारमा आएको व्यापार उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.७७ प्रतिशत घटेको छ । त्यस्तै, विकास बैंक र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन अर्थात् गत शुक्रबार ५ अर्ब ६२ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

यस दिन कालिञ्चोक हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लागेर कारोबार भएको छ । यस दिन सो कम्पनीको शेयरमूल्य १४.९९ प्रतिशत बढेर ८७१ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य १३ प्रतिशतभन्दा बढी बढेको छ भने सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य १० प्रतिशत बढेको छ ।

कारोबारमा आएको उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य यस दिन सर्वाधिक ७.१४ प्रतिशत घटेको छ । यसपत्री हाइड्रोपावरको ६.०१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन सेन्ट्रल फाइनान्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २० करोड ४६ लाख २९ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, यस दिन ८.५ प्रतिशत लक्ष्मी बैंक डिबेञ्चर २०८८ को १७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने आँखु खोला जलविद्युत् कम्पनीको कारोबार रकम साढे १३ करोड रुपैयाँ नाघेको छ ।

1

Scroll to Top