July 24, 2021, Saturday
९ श्रावण २०७८, शनिबार

निषेधाज्ञाबीच बढ्यो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा

निषेधाज्ञाबीच बढ्यो वाणिज्य बैंकहरुको निक्षेप र कर्जा

जेठ २५,काठमाडौं ।
निषेधाज्ञाबीच वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको छ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अनुसार जेठको तेस्रो साता वाणिज्य बैंकहरुको कर्जा लगानी र निक्षेप संकलन दुवै बढेको हो ।

निषेधाज्ञाकै बीच सञ्चालनमा रहेका २७ ओटा वाणिज्य बैंकको निक्षेप संकलन जेठको दोस्रो साता ५ अर्ब रुपैयाँले घटेर कुल निक्षेप ३९ खर्ब ५६ अर्बमा सीमित भएको थियो । तर जेठको तेस्रो साता १३ अर्बले निक्षेप बढाउन बैंकहरू सफल भएका छन् । यससँगै वाणिज्य बैंकहरूको कुल निक्षेप ३९ खर्ब ६९ अर्ब पुगेको छ ।

वाणिज्य बैंकहरूको व्यवसाय निरन्तर बढिरहँदा जेठ तेस्रो साता थप ८ अर्ब कर्जा प्रवाह भएको छ । उक्त कर्जा वृद्धिपछि कुल कर्जा प्रवाह ३६ अर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ । यसअघिको साता अर्थात् जेठ दोस्रो साता बैंकहरूको कर्जा प्रवाह करीब १० अर्बले बढ्दा कुल कर्जा प्रवाह ३६ खर्ब २६ अर्ब पुगेको थियो ।

निषेधाज्ञामा लगाइएका प्रतिबन्धका कारण बैंकका सीमित शाखाहरुमात्र खुल्न दिइएको छ । यो बेला ग्राहकलाई डिजिटल माध्यमबाट मात्र बैंकिङ कारोबार गर्न अधिकांश बैंकले सूचित गरेका छन् । यस्तो बेला पनि बैंकहरुको निक्षेप बढ्नु निकै सकारात्मक रहेको बैंकरहरु बताउँछन् ।