Banijya News

कुखुरा फार्मबाट निस्केको दुर्गन्धले दर्जनौँ बस्तीमा समस्या

1
1.1K Shares

शिवम कुखुरा फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले पश्चिमी पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्वर १, २ र ३ का करिब १७ हजार बासिन्दाको स्वास्थ्यमा असर पर्न थालेको छ ।

सो गाउँपालिकाको वडा नम्वर २ मा रहेको उक्त फार्मबाट निस्कने फोहर तथा दुर्गन्धका कारण चापी, मकवानीटोल, वनकटवा, कञ्चनपुर, बैरिया, महेन्द्रपुर, सोनवर्षा, देउखुरी, धर्मपुर, वैधनाथपुर, धर्मबस्ती, बङ्कुल, रामभोटीभाठा गाउँ, खरघट्टी, सुवाटोल, बेलवा, लंकुल, पल्लोटाँगी, बहुरीया, मलाइडाँडालगायतका बस्तीमा दुर्गन्ध फैलनाका साथै स्थानीयवासीको स्वास्थ्यमा समेत असर पर्न थालेको उक्त गाउँपालिकाका उपाध्यक्ष ममता महतोले बताए ।

दुई वर्षअघि स्थानीय शिवजीप्रसाद कलवारले स्थापना गरेको सो फार्मबाट निस्कने दुर्गन्ध र फोहरलाई रोक्न र मरेको कुखुरालाई उचित व्यवस्थापन गर्न पटकपटक सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउँदासमेत फार्मले समस्या समाधानमा ध्यान नदिएकाले पीडित स्थानीयवासीले गाउँपालिकामै समस्या समाधानका लागि उजुरी दिएका छन् ।

कुखुरा फार्मले जथाभावी मरेको कुखुरा फ्याँक्दा अहिले सो गाउँमा दुर्गन्धको समस्या बढ्नाका साथै स्यालको आतङ्कसमेत फैलिएको स्थानीय जयकुमार मिश्रले गुनासो गरे ।

दाल र दानाको उद्योग खोल्ने अनुमति लिएर लगानीकर्ताले कुखुरा फार्म खोलेको स्थानीयवासीले आरोप लगाए पनि कम्पनी काठमाडौँस्थित कम्पनी रजिष्टारको कार्यालय तथा जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमा कुखुरापालन व्यवसाय गर्ने भनेर नै सो फार्म दर्ता भएको सो कार्यालयका प्रमुख रिमा साहले बताए ।

सदरमुकाम वीरगञ्जबाट करिब ३० किलोमिटर पश्चिमतर्फ रहेको सो फार्मबाट निस्केको फोहर तथा दुर्गन्धले स्थानीयवासीको स्वास्थ्यमा असर गर्नाका साथै, फलफूल नष्ट हुने, धानबालीमा विभिन्न रोगका किरा लाग्ने, प्रदूषण बढ्नेजस्ता समस्या बढ्दै गएकाले छिट्टै समस्या समाधान नभए आन्दोलनमा समेत उत्रिने स्थानीयवासीले बताए । रासस

1

Scroll to Top