Banijya News

नयाँदिल्लीको रेलवे स्टेसनमा भेटिएको ८३.६२१ केजी सुनको लिंक नेपालमा

1
1.0K Shares

काठमाडौं। भारतको नेसनल इन्भेस्टिगेसन एजेन्सी (एनआईए)ले गत अगस्टमा नयाँदिल्लीको रेलवे स्टेसनमा भेटिएको ८३.६२१ केजी सुनको लिंक नेपाल, भुटान र म्यानमारसँग जोडिएको जनाएको छ।

६८ करोड ६२ लाख नेपाली रूपैयाँ मूल्य बराबरको उक्त सुन तस्करीमा नेपाल, भुटान र म्यानमार तीनवटै देशका नागरिकको सम्भावित सहभागिताको ‘क्लू’ भेटिएको निष्कर्ष एनआईएले आज निकालेको हो।

एनआईएले चार ठाउँको खोजतलासपछि सुन तस्करीमा भारतीयबाहेक नेपाल, भुटान र म्यानमारका नागरिकको पनि संलग्नता रहेको निष्कर्ष निकालेको भारतीय मिडिया डेक्कन हेराल्डले आफ्नो समाचारमा उल्लेख गरेको छ।

“खोजतलास गरिएका चार स्थानहरू आरोपित र उनीहरूलाई निर्देशन दिनेहरूसँग सम्बन्धित छन्,” एनआईएले आज जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सन्दिग्ध लेनदेनको विवरणसहित गोप्य कागजात र उनीहरूले प्रयोग गरेका विद्युतीय उपकरणहरूको अनुसन्धान गर्दा उनीहरूको सम्बन्ध नेपाल र म्यानमारमासमेत देखिएको छ।”

भारतीय मिडियाले एनआईए स्रोत र असाम भन्सार विभागलाई उद्वृत गर्दै भारतको उत्तर-पूर्वी राज्य सुन तस्करीको ‘सबैभन्दा ठूलो पारवहन मार्ग’ रूपमा उदाएको उल्लेख गरेका छन्। नेपालबाट नर्थ बंगाल, भुटानबाट असाम र म्यानबारट मणिपुर, मिजोराम, नागाल्याण्ड र अरूणाञ्चल प्रदेशमा सुन तस्करी हुने गरेको जनाइएको छ।

अनुसन्धानका क्रममा आरोपितहरूले तस्करीको लागि सुन गुवाहटीबाट प्राप्त गर्ने गरेको र उक्त सुन नयाँदिल्ली पुर्‍याउने गरेको खुलेको एनआईएले जनाएको छ।

केही अभियुक्तहरूसँग सोधपुछ गर्दा उनीहरूले नेपाल, भुटान र म्यानबारबाट तस्करी भई आउने सुन गुवाहटीमा जम्मा हुने र त्यहाँबाट नयाँदिल्ली लग्ने गरेको बताएका थिए।

एनआईएको दिल्ली शाखाले सेप्टेम्बर १६ का दिन सुन तस्करहरूविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो। एनआईएले उक्त सुनको मुल्य भारतीय रूपैयाँ ४२.८९ करोड उल्लेख गरेको छ। सुन गत अगस्ट २८ का दिन नयाँदिल्लीको रेलवे स्टेसनबाट बरामद गरिएको थियो। सुन बोकिरहेका आठ जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरू डिव्रुगढ-नयाँदिल्ली राजधानी एक्सप्रेसमा यात्रा गरिरहेका थिए।

भारतीय मिडियाले एनआईए स्रोत र असाम भन्सार विभागलाई उद्वृत गर्दै भारतको उत्तर-पूर्वी राज्य सुन तस्करीको ‘सबैभन्दा ठूलो पारवहन मार्ग’ रूपमा उदाएको उल्लेख गरेका छन्। नेपालबाट नर्थ बंगाल, भुटानबाट असाम र म्यानबारट मणिपुर, मिजोराम, नागाल्याण्ड र अरूणाञ्चल प्रदेशमा सुन तस्करी हुने गरेको जनाइएको छ।

यसरी तस्करी भएर भारत पुग्ने सुन चीनबाट जाने गरेको उल्लेख छ। चिनियाँ सुन सबैभन्दा बढी भारत-म्यानमार सीमाबाट तस्करी हुने गरेकोसमेत जनाइएको छ। भारतभित्र भने रेल, रोड र हवाई तीनै मार्गबाट सुन गन्तव्यसम्म पुर्‍याउने गरिएको छ।

भारतीय मिडियाहरूका अनुसार पछिल्लो एक वर्षमा भारतभित्र तस्करी हुँदै गरेको १६ सय केजी सुन बरामद गरिएको छ। यस वर्षको अगस्टसम्म सुन तस्करीका दुई हजार ११२ वटा घटना घटेका छन्। गत फेब्रुअरी महिनामा मात्र तस्करी हुँदै गरेको ४८४ केजी सुन भारतका विभिन्न स्थानबाट बरामद गरिएको थियो।यस्तै, मार्चमा २०५.८१ र अप्रिलमा २८०.६६ केजी सुन बरामद गरिएको थियो।

1

Scroll to Top