युवा वर्गलाई स्वरोजगार बनाउने उद्देश्यले चाँगुनारायण नगरपालिकाले बिनाधितो र बिनाब्याजको ऋण उपलब्ध गराउने भएको छ । यसरी उपलब्ध गराएको कर्जाको ब्याज भने नगरपालिकाले तिर्ने नगरपालिकाका सूचना अधिकारी सिद्धान्त न्यौपानेले जानकारी दिए । उनका अनुसार चाँगुनारायणका युवाको उद्यमशीलता वृद्धि गरी स्वरोजगार बनाउन नगरपालिका र नेपाल बैंक लिमिटेडबीच नगरपालिकाका ३०० युवालाई बिनाधितो र बिनाब्याज ऋण उपलब्ध गराइने भएको हो ।
बुधबार भएको सहमति अनुसार राष्ट्रिय युवा परिषद्ले ऋण लिने ३७० युवालाई १० समूहमा विभाजन गरी तालीम दिन शुरु गरिएको हो ।
तालीमपश्चात् नेपाल बैंकले ती युवालाई नगरपालिकाको सिफारिसमा व्यावसायिक प्रस्तावका आधारमा नगरपालिकाको जमानीमा रु तीन लाखका दरले बिनाब्याज कर्जा दिनेछ ।
नेपाल बैंकका नायब कार्यकारी अधिकृत प्रकाश अधिकारीले नगरपालिकाको सिफारिस एवं उद्यमशीलतासम्बन्धी आवश्यक कागजातसहित प्रक्रिया पुर्याएर बैंकले ऋण उपलब्ध गराउने छ ।


