तनहुँको घिरिङ गाउँपालिकाले लसुन र प्याज खेती गर्ने कृषकलाई प्रोत्साहन रकम वितरण गरेको छ । कृषकलाई नगदे बालीतर्फ आकर्षित गराउँदै गाउँपालिकालाई लसुन र प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यसहित गाउँपालिकाले कृषकलाई प्रोत्साहन रकम वितरण गरेको हो ।
चालू आर्थिक वर्षको गाउँसभाबाट पारित नीति तथा कार्यक्रममा उल्लेख भए अनुसार कृषकलाई प्रतिरोपनी ५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरिएको गाउँपालिकाका सल्लाहकार सुमनकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार १८ कृषकलाई १ लाख ४२ हजार ५०० रुपैयाँ वितरण गरिएको छ । घिरिङ गाउँपालिका–१, २ र ३ का लसुन र प्याज उत्पादन गर्ने कृषकलाई प्रोत्साहन रकम प्रदान गरिएको हो ।
घिरिङ गाउँपालिका–१ अत्रौलीका प्रेम थापाले ८ रोपनीमा लसुन र प्याज उत्पादन गरेबापत ४० हजार रुपैयाँ प्राप्त गरेका छन् । ३ जना कृषकलाई २ रोपनी, १ जना कृषकलाई डेढ रोपनी र १३ जना कृषकलाई १ रोपनीका दरले सो सुविधा प्रदान गरिएको छ ।
गाउँपालिकाले १ जना कृषकलाई ८ रोपनीको ४० हजार, ३ जना कृषकलाई ६ रोपनीको ३० हजार, १ जना कृषकलाई डेढ रोपनीको ७ हजार ५०० र १३ जना कृषकलाई ६५ हजार रुपैयाँका दरले प्रोत्साहन रकम वितरण गरेको छ ।
कृषक नगदेबालीतर्फ त्यति आकर्षित नभइरहेको अवस्थामा गाउँपालिकाले प्रोत्साहन रकम प्रदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । ‘नगदे बालीतर्फ आकर्षण बढाउन चालू आर्थिक वर्षबाटै यो कार्यक्रम ल्याएका हौं, आगामी वर्ष पनि यसले निरन्तरता पाउँछ,’ उनले भने । रासस


