Banijya News

बढी भाडा लिनेलाई यात्रु बनेर धामधम कारवाही गर्दै ट्राफिक प्रहरी, सात पक्राउ

1
1.0K Shares

महानगरीय ट्राफिक प्रहरी महाशाखाले चाडपर्व लक्षित विशेष कारबाही अप्रेशन थालेको छ । उपत्यकाबाट बाहिर चाडपर्व मनाउन घर जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिन खोजेको आरोपमा ७ जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

चाडपर्वको समयमा यात्रुहरूसँग टिकट काउन्टरको कर्मचारी हुँ भनी पोसाक तथा परिचय पत्र साथमा नलिई अनाधिकृत रूपमा भाडा उठाई बिचौलियाको काम गर्ने ७ जनालाई सोमबार बिहानै नियन्त्रणमा लिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

बढी भाडा लिएको आरोपमा ट्राफिक प्रहरीले कोटेश्वर एरियाको काउन्टरबाट खोटाङ ऐशेलुखर्क–३ का भीम निरौला र रञ्जित श्रेष्ठ, बल्खु एरियाको काउन्टरबाट सिन्धुलीका हरि कार्की, चितवनका सुदर्शन पाण्डे, बारा कलैयाका एल एक्स चौधरी, मकवानपुर भिमफेदीका प्रेम घिमिरे र बारा जितपुरका बिशाल लामा पक्राउ परेका हुन् ।

भट्टराईले दसैँतिहार मनाउन घर जानेहरूको अरु समयमा भन्दा यतिखेर बढी नै हुने हुँदा महाशाखाले विशेष निगरानी तथा अनुगमन टोली बनाएर सक्रियताका साथ काम गरिरहेको जानकारी दिए । उनले यात्रु ठगीका घटना रोक्न विशेष अभियान चलाएको तर प्रहरीको आँखा छलेर ठगीमा परिएको स्वयं यात्रुले गुनासो गरे ट्राफिक प्रहरी खटाई तुरून्तै कारवाही गर्ने पनि बताए ।

ठगी, बढी भाडा लिने, दोब्बर भाडामा टिकट काट्ने लगायतको काम हुन सक्ने भन्दै महाशाखाले पीडित सहायता कक्षबाट सादा पोशाकमा प्रहरी टोली परिचालन गरी आफैँ यात्रु बनेर कारवाही अभियान चलाइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत्तहरूमा बुझाएको छ ।

1

Scroll to Top