डडेल्धुरामा २२ दिन क्वारेन्टिन बसेर घर फर्केका तीनजनामा कोरोना संक्रमण देखिएको छ । भारतबाट फर्केर क्वारेन्टिन बसेको १४ दिनपछि गरिएको आरडीटी परीक्षणको लागि पठाईएको थियो । यसरी पठाईएको रिपोर्ट समयमा नआउँदा उनीहरुलाई घर पठाईएको थियो । डडेल्धुराको आलिताल नगरपालिका ३ का ६ जनाको रिपोर्ट पोजेटिभ आएको थियो ।
उनीहरुको पीसीआर परीक्षणका लागि स्वाव संकलन गरेर पठाइए पनि रिपोर्ट आउन ढिलो भएपछि क्वारेन्टिन बसेको २२ औँ दिनमा घर पठाइएको थियो । यसरी घर पठाइएका ६ जना मध्ये तीनजनाको पीसीआर रिपोर्ट पनि पोजेटिभ आएको छ । तर पीसीआर पोजेटिभ आएको तीन दिन भइसक्दा समेत उनीहरुलाई आइसोलेशन कक्षमा राख्न कसैले चासो नदिएपछि गाउँमा त्रास फैलिएको छ ।


