काठमाडौं–व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या २० लाख नाघेको छ । अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको साउन मसान्तसम्ममा २० लाख १० हजार १३४ जनाले व्यक्तिगत प्यान लिएका छन् । गत वर्षको सुरुदेखि नै प्यान लिनेको संख्यामा उच्च वृद्धि भएको थियो । अर्थ मन्त्रालयका अनुसार प्यान लिनेको यो संख्या सक्रिय करदाता हुन् भने यस्को संख्या प्रतिदिन बढ्दो छ ।
चालु आर्थिक वर्षको पहिलो महिना अर्थात् साउनमा ३६ हजार ६८२ जनाले प्यान लिएका थिए । सरकारले गत आर्थिक वर्षबाट भुक्तानीमा अनिवार्यरूपमा प्यान नम्बर उल्लेख गर्नुपर्ने व्यवस्था गरेसँगै प्यान लिनेको संख्या बढेको हो ।
व्यवसायिकतर्फ १३ लाख ७४ हजार ३५४ प्यान जारी भएको छ । यो साउनमा १५ हजार ५ सय २२ वटा नयाँ प्यान जारी भएको थियो । यसैगरी करकट्टी गर्ने निकायहरू ५ हजार ३ सय २३ वटाले पनि प्यान लिएको अर्थमन्त्रालयले जनाएको छ ।
के हो प्यान नम्बर ?
स्थायी लेखा नम्बर अर्थात प्यान प्रत्येक करदाताको पहिचानका लागि दिइने ९ डिजिटकास्थायी संकेत अंक हो । व्यक्तिले व्यवसाय गर्ने स्थल वा व्यवसायको प्रकृति वा अन्य विवरण बदली गरेपनि करदाताको संकेत नम्बर भने स्थायी हुन्छ । कर तिर्ने प्रयोजनमा काम लाग्छ । यसबाहेक कुनै पनि आधिकारिक निकायलाई कर प्रयोजनका लागि आवश्यक परेका सूचना समेत यहाँ भण्डारण गरिएको हुन्छ ।
कसरी लिन सकिन्छ ?
व्यवसाय वा आय आर्जनमा संलग्न हुने व्यक्ति वा अग्रीम करकट्टी गर्ने व्यक्तिले स्थायी लेखा नम्बर लिनुपर्ने कानूनी प्रावधान छ । अहिले सरकारी कार्यालय, सार्वजनिक संघसंस्था, विद्यालय, विश्वविद्यालय, अस्पताल, गैरसरकारी संस्थालगायत निजी क्षेत्रका संघसंस्था एवम् उद्योग व्यवसायिक र्फमबाट कर्मचारी र कामदारको एकमुष्ट फाराम भराउन सकिने सुविधा दिइएको छ ।
विदेशीलाई पनि अनिवार्य नेपालमा काम गरिरहेका विदेशी नागरिकले समेत अनिवार्य स्थायी लेखा नम्बर लिनुपर्ने भएको छ । आन्तरिक राजस्व विभागका अनुसार व्यक्तिगत स्थायी लेखा नम्बरका लागि विदेशीले निज कार्यरत रहेको कार्यालयको सिफारिस र विदेशी भनी प्रमाणित गराउने कागजात अनिवार्य बुझाउनुपर्छ । नेपालको अनौपचारिक क्षेत्रमा ठूलो संख्यामा भारतीय कामदार कार्यरत छन् । तर, कति संख्यामा छन् भन्ने खुलेको छैन । उनीहरुलाई अन्य देशका नागरिकलाई जस्तो श्रम स्वीकृति चाहिँदैन । प्यान नम्बर लिन पनि उनीहरुलाई श्रम स्वीकृति आवश्यक पर्दैन ।
व्यवसाय, रोजगारी वा अन्य कुनै आर्जन गर्ने प्रत्येक व्यक्ति, फर्म र संस्थाले अनिवार्य रुपमा कर कार्यालयमा दर्ता भई स्थायी लेखा नंम्बर (प्यान) लिनुपर्छ । व्यवसाय दर्ता गरिसकेपछि कर कार्यालयबाट स्थायी लेखा नम्बर लिनुपर्दछ । स्थायी लेखा नम्बर लिएका व्यक्ति तथा संस्थाले आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आन्तरिक राजस्व कार्यालयमा कर विवरण बुझाउनुपर्दछ ।
कसरी लिने त कर कार्यालयमा प्यान ?
- सर्व प्रथम आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np मा जानुहोस्
- www.ird.gov.np को होम पेजमा Taxpayer मा क्लिक गर्नुहोस र Registration मा क्लिक गर्नुहोस । त्यसपछि Application For Registration मा क्लिक गरी नाम थर भएको बक्समा आफ्नो नाम र थर लेखेर भर्नुहोस् ।
- User Name मा आफूले सम्झिन सजिलो हुने नाम राख्नुहोस् अनि Password हाल्नुहोस् र फेरि अर्को बक्स Re password मा राख्नुहोस् । आफ्नो सम्पर्क नम्बर र Email ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना IRO नम्बरमा खुलाउनुहोस् । त्यसपछि Ok बटनमा थिच्नुहोस् ।
- अब तपाइको व्यक्तिगत विवरण माग्छ । सो अनुसार आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र Submit गर्नुहोस ।
- Submit भएपछि Print थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।
- उक्त प्रिन्ट कपि लिएर सम्बन्धित राजश्व कार्यालयमा जानुहोस् ।
- राजश्व कार्यालयले तपाईंलाई विवरण जाँच गरेर Pan कार्ड दिनेछ ।


