बहराइनका राजकुमारसहितको टोली नेपालको हिमाल आरोहणका लागि नेपाल प्रस्थान गरेको बहराइनस्थित नेपाली दूतावासले जनाएको छ। बहराइनका राजकुमार नासिर बिन हामिद अल खलीफासहित १८ जनाको टोली लोबुचे र मनास्लु हिमाल आरोहण गर्न आज काठमाडौं आइपुग्दै छ। जस्मा १५ जना बहराइनी र ३ जना बेलायती छन् ।
दुई महिनाको कार्यक्रमसहित नेपाल प्रस्थान गरेको सो टोलीले लोबुचे र मनास्लु हिमाल आरोहणलाई पूर्व तयारीको रूपमा लिंदै सन् २०२१ मा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने छ। यही भदौ १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले उक्त टोलीलाई आरोहणको लागि नेपाल आउन दिने निर्णय गरेको थियो।
काठमाडौं प्रस्थान गर्नुअघि टोलीका सबै सदस्यको कोरोना परीक्षण गरिएको थियो। परीक्षणमा सबैको नतिजा नेगेटिभ आएपछि उनीहरू नेपाल तर्फ प्रस्थान गरेको जनाइएको छ। सो टोलीले नेपाल सरकारले निर्धारण गरेको स्वास्थ्य सम्बन्धी सम्पूर्ण मापदण्ड पालना गर्ने दूतावासले जनाएको छ।


