बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विकराल बन्दै गएपछि संसदीय समितिले तत्काल नेपालमा कृषि मल कारखाना स्थापनका लागि काम अगाडि बढाउँन निर्देशन दिएको छ । जीविकोपाजर्नको आधार र कुल ग्राहस्त उत्पादनमा प्रमुख योगदान पु¥याउने कृषि क्षेत्रमा मलको माग उच्च रहकाले देशभित्र नै मल कारखाना स्थापनाका लागि विलम्ब नगर्न समितिले निर्देशन दिएको हो ।
साथै, समितिले मल क्षेत्रसँग सम्बन्धित समसया सामधानका लागि तत्काल अल्पकालीन र दीर्घकालीन योजना बनाउन समेत निर्देशन दिएको हो । देशभरीमा ५० प्रतिशत कृषकले मात्रै सरकारी अनुदान प्राप्त गरिरहेको सन्दर्भमा मलमा दिएको अनुदानलाई पुनरावलोकन गरी सबै किसाहरुलाई रासायनिक मल अनुदानमा दिन तराई र मध्य पहाडी जिल्लामा गोदाम घरको व्यवस्था मिलाउन पनि समितिले निर्देशन दिएको छ ।
आवश्यक प्रक्रिया अगाडि बढाउन कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्देशन दिएको हो । समितिले आज छलफलपछि नेपालमा आवश्यक मलको मौज्दात र आयात प्रकृयामा रहेको मलको परिमाणका आधारमा आगामी दिनमा अभाव नहुने कुरामा सजग हुन पनि मन्त्रालयलाई निर्देशन दिएको हो ।
यस्तै, समितिले कृषकलाई समयमै मल उपलब्ध गराउन आवश्यक व्यवस्था मिलाउन र चालु आर्थिक वर्षमा रासायनिक मल आयात गरिएको मलको परिणाम र वितरणको तयारीका विषयमा विस्तृत विवरण सात दिनभित्र समितिमा पेस गर्न पनि निर्देशन दिइएको छ ।


