असोज ९, काठमाडौँ ।
जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब सेभियालाई हराउँदै युईएफए सुपर कपको उपाधि जितेको छ । गएराती सम्पन्न खेलमा बायर्नले स्पेनिस क्लब सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
खेलमा सेभियाले अग्रता बनाएको थियो । खेलको १३ औं मिनेटमा लुकास ओकाम्पसले पेनाल्टीमार्फत गोल गर्दै खेलमा अग्रता बनाएका थिए । खेलको ३४औ मिनेटमा बायर्नका लागि लेओन गोरेटज्काले गोल फर्काउदै खेल बराबरी गरेका थिए ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट १–१ गोल भएपछि खेल अतिरिक्त समयमा गएको थियो । बायर्नका लागि खेलको १०४ मिनेटमा जाभी मार्टिनजले निर्णायक गोल गरेका थिए । यो सँगै बायर्नले दोस्रो पटक सुपर कप जितेको छ । यस अघि २०१३ मा बायर्नले यो उपाधि जितेको थियो ।


