हिन्दुहरुको महानचाड दशैंको विषेशता राम्रो लगाउने र मिठो खान, ठुलाबडासँग आशिर्वादसँगै दक्षिणामा नयाँ नोट प्राप्त गर्नु पनि एक हो । दशैंका लागि यो बर्ष राष्ट्र बैंकबाट नयाँ नोट साँट्न नपाईने भएको छ । कोरोना महामारीमा भिडभाड नियन्त्रणका लागि भन्दै केन्द्रीय बैंकले आफ्ना विभिन्न शाखाबाट नयाँ नोट निश्कासन नगर्ने भएको हो ।
कोरोना भाइरसको संक्रमण दिनहुँ बढिरहेको हुँदा अघिल्ला वर्षहरुमा झैं राष्ट्र बैंकले दशैंको लागि नयाँ नो निष्काशन नगर्ने भित्री तयारी गरेको छ । यद्यपी यो विषयमा केन्द्रीय बैंकले औपचारिक निर्णय गरिसकेको भएपनि केन्द्रीय बैंकको थापाथाली लगायतका शाखाबाट नयाँ नोट निश्कासन नगरिने तथा बैंक तथा वित्तीय संस्थाका माध्यमबाट सुरक्षित तवरले नयाँ नोट सटहीको व्यवस्था गरिने राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले बताए ।
बैंक तथा वित्तीय संस्थाबाट सुरक्षित तवरले सटहीको व्यवस्था गर्ने र एटीएममा नयाँ नोट राखिने भएपनि राष्ट्र बैंक मातहतका निकायमा भने सटही नगरिने भएको हो । दशैंका अवसरमा केन्द्रीय बैंकबाट यसअघी कम्तिमा बार्षिक १५ अर्व रुपैयाँ बराबरको नयाँ नोट सटही हुने गरेको थियो । यो वर्ष भने कोरोना महामारीका कारण नयाँ नोट सटही प्रक्रीया प्रभावित भएको हो ।
दशैं देखि छठसम्म बैंक तथा वित्तीय संस्थाको माध्यमबाट ४० देखि ६० अर्ब रुपैयाँसम्म नगद प्रवाह हुने गरेको छ । राष्ट्र बैंकले प्रत्येक वर्षको दशैं लक्षित गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट वितरण गर्दै आएको थियो ।


