२७ असोज, काठमाण्डौ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका नेता महेन्द्रबहादुर शाही पक्ष र नेता माधवकुमार नेपाल पक्षबीच गोप्य सहमति भएको छ ।
सहमति अनुसार नेता महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव माधवकुमार नेपाल पक्षले फिर्ता लिने भएको हो ।
मुख्यमन्त्री शाही मंगलबार भएको छलफलमा मन्त्रिपरिषद् पुनर्गठन गर्न सहमत भएपछि नेपाल समूहका सांसदहरु अविश्वासको प्रस्तावबाट पछि हटेका हुन् ।
स्रोतका अनुसार नेपाल पक्षले भौतिक पूर्वाधार विकास मन्त्रालय, दलको सचेतक र उपसभामुख गरी थप तीन मन्त्री र संसदीय दलको सचेतक पद पाउने गरी सहमति भएको हो ।
यससँगै, अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका ७ सांसदले आफ्नो समर्थन फिर्ता लिनेछन् ।
दलका सचेतक रहेका गुलावजंग शाहलाई हिजो नै मुख्यमन्त्री शाहीले निष्काशित गरेका छन् । नेकपाको प्रदेश संसदीय दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शाहलाई प्रमुख सचेतकबाट हटाएर उनको ठाउँमा सिताकुमारी नेपालीलाई नयाँ सचेतक नियुक्त गरेका छन् । मुख्यमन्त्री शाहीले सोमबार उनलाई जिम्मेवारीमुक्त गरिएको पत्र दिदै नेपालीलाई नयाँ सचेतकको जिम्मा दिएका हुन् ।


