Banijya News

कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

1
1.1K Shares

प्रधानमन्त्रीले विश्वासको मत लिने विषयमा छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । सभामुख देवराज घिमिरेले अहिले विहान १० बजे संसद भवन बानेश्वसरमा बस्नेगरी कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । सोमबार बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यसूची रहेको छ।

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतबाट आदेश नआउन्जेल आफ्नो दलबाट पार्टी फुटाएको भनिएका ७ सांसदलाई प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने कार्यक्रममा सहभागी नगराउन सभामुखलाई पत्र लेखेका छन्।

यसअघि आइतबार यादवले प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च अदालत पुगेका थिए। यादवले प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर गरेका छन्।

कार्यव्यवस्था परामर्श समितिको बैठकमा यसबारेमा पनि छलफल हुने जनाइएको छ। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिनु अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ । वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।

1

Scroll to Top