मिर्मिरे लघुवित्तको आज असोज २५ गतेदेखि थप सार्वजनिक निष्कासन (एफपीओ) खुला भएको छ । यस लघुवित्तले १ करोड २३ लाख ८१ हजार ६४५ रुपैयाँ बराबरको एफपीओ निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा १ लाख २३ हजार ८१६ कित्ता एफपीओ बिक्रीमा ल्याएको हो ।
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न यो लघुवित्तले एफपीओ निष्कासनमा ल्याएको हो । यसमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
यो एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको छ ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जानाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८० जेठ १७ गते यो रेटिङ दिएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउन तथा वित्तीय एवम् आर्थिक गतिविधिहरुलाई विस्तार गर्न आवश्यक पर्ने पूँजीको व्यवस्था गर्नुका साथै जारी पूँजी बढाउन एफपीओ जारी गर्न लागेको हो ।


