Banijya News

सहकारीमा रास्वपा र गिरिबन्धुमा एमाले जाेगाउन सहकारीबन्धु गठबन्धन लागेकाे छ : विश्वप्रकाश शर्मा

1
1.0K Shares

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेताहरूमाथि लगाइएको आरोपमाथि छानबिन गर्न चुनौती दिएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरिबन्धु टि इस्टेटको जग्गामा कांग्रेसले कमिसन खाएको आरोप लगाएको भन्दै सो विषयमा छानबिन समिति बनाउन चुनौती दिए ।

उनले नेपाली कांग्रेसका नेताहरू छानबिनको दायरामा आउन तयार रहेको बताए । उनले गृहमन्त्री रवि लामिछानेले पनि कांग्रेसका नेताहरूमाथि संसदमा बोलेरै आरोप लगाएको भन्दै त्यसमा पनि सबैमाथि छानबिन गर्न आफूहरू तयार रहेको बताए ।

उनले कांग्रेस पार्टी सभापतिदेखि महामन्त्रीसम्म र दाजुदेखि भाउजुसम्म छानबिन गर्न तयार रहेको भन्दै कसलाई छानबिन गर्ने हो भनि प्रश्नसमेत गरे । उनले प्रत्येक व्यक्तिमाथि नाम, थर, गोत्र, वजन, ठेगाना सबै लेखेर छानबिन गरेपनि आपत्ति नभएको बताए ।

महामन्त्री शर्माले वर्तमान सत्तारुढ गठबन्धनलाई सहकारीबन्धु गठबन्धन भएको टिप्पणी गरे । एमालेले रास्वपालाई सहकारी प्रकरणमा साथ दिने र रास्वपाले एमालेलाई गिरिबन्धु प्रकरणमा साथ दिने सहमतिसाथ यो गठबन्धन अगाडि बढिरहेको उनले बताए ।

उनले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रक्राउ गरिएकोप्रति पनि विरोध जनाए । सिरोहियाले नागरिकता प्रकरणको छानबिनमा सहयोग गर्न तयार रहेको कुरा सार्वजनिक रूपमा भन्दाभन्दै गिरफ्तार गरिएको भन्दै गृहमन्त्रीमाथि असन्तुष्टि व्यक्त गरे ।

उनले गृहमन्त्री रवि लामिछाने संलग्न सहकारी ठगी प्रकरणको कान्तिपुरले श्रृङ्खलावद्ध रूपमा समाचार प्रकाशित गरेपछि बदला स्वरुप सिरोहियालाई पक्राउ गरिएको बताए । उनले गृहमन्त्रीमाथि पनि दुईवटा पासपोर्ट प्रयोगको अभियोगमा छानबिन हुनुपर्ने बताए ।

1

Scroll to Top